छोरा कुर्दा छोरी धेरै

छोरी कुर्दा छोरा धेरै …… !
जाजरकोट, ९ साउन । नेपाली संस्कार र संस्कृतिको आडमा आधा दर्जन बढी सन्तान जन्माउने आमाहरू प्रशस्त मात्रामा भेटिने गरेका छन् । वंश जोगाउने र छोराको आशमा धेरै सन्तान जन्माउने आमाहरू गाउँघरमा भेटिने गरेका हुन् ।

शिक्षाको पहुँचबाट टाढा रहेको ग्रामीण भेगमा परिवार नियोजनका अस्थायी साधनको पहुँचबाट समेत टाढा भएका कारण र धर्म, संस्कृति र संस्कार जोगाउने आडमा सन्तान बढी जन्माउने गरेको पाइन्छ । हिन्दु संस्कारमा छोरा नभए पुण्य नहुने तथा स्वर्ग नगइने डरले पनि छोराको आशमा आफूले ९ वटा सन्तान जन्माएको बारेकोट गाउँपालिका २ की ७२ वर्षीया दुर्गा विकले बताइन् । सन्तान धेरै जन्मिए पनि आफू आजसम्म स्वस्थ रहेको उनको भनाइ छ ।

काम गर्न मेलामा गएकै बेलामा पनि आफूले सन्तान जन्माएको स्मरण गर्दै विक भन्छिन, ‘आजका नानीहरूको शरीर कस्तो भएको हो, दुईवटा सन्तान जन्माएपछि रोगी भइहाल्छन्, हाम्रा पालामा जस्तो औषधी उपचार नहुने भए धेरैले बच्चा जन्माउन नसकेर नै ज्यान गुमाउनुपर्ने रहेछ !’

आजका महिलाहरूलाई संकेत गर्दे उनले भनिन् ’के यस्तो रोगी भएका ? सधै अस्पताल मात्रै धाएका देखिन्छ । मैले धेरै छोरी पाएर के भयो र ? छोरीहरू सबैले घरमा राम्रा काम गरेका छन्, सबैले पढेका छन् । म धेरै खुसी छ ु।’ आफूले छोरी धेरै जन्माए पनि सबै छोरीहरू आआफ्नो काम गर्न थालेकामा खुसी लाग्ने गरेको उनको भनाई छ ।

त्यस्तै, नलगाड नगरपालिका १ की कोपिल्ला राणाले छोराको आशमै ९ छोरी जन्माएको उनी बताउँछिन् । आफूले जन्माएका सन्तानमध्ये एउटी छोरीको मृत्यु भइसकेको उनले बताइन् ।

एकको मृत्यु भएपनि अहिले आठ छोरीहरु रहेको उनले बताइन् । सन्तान धेरै जन्माएको भएपनि आफू आजसम्म स्वस्थ नै रहेको उनको भनाई छ । आफ्नो कुल र वंश धान्नकै लागि आफूले सानो परिवारको कल्पना गर्दा गर्दै नौ वटा सन्तान जन्माएको कोपिलाका श्रीमानले बताए ।

उनले भने, बन्धुहरूको वंशावली तयारी हुँदा आफ्नो सम्म नाम उल्लेख भएको र परिवारमा दाजुभाइ कसैको पनि वंश अगाडि बढ्न नसक्दा र लामो समयसम्म छोरो नहुँदा आफूलाई नरमाइलो लाग्ने गरेका उनकोे भनाई छ । छोरो जन्मिएपछि आफनो वंश पनि एक पुस्ता अगाडि बढेको देख्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

बारेकोट गाउँपालिका २ का खीमबहादुर कामीका पनि सात वटी छोरी मात्रै जन्मिए छोराको आशा गर्दा गर्दै सन्तान धेरै भएको कामी बताउँछन् ।

वंश धान्नका लागि भने पनि एउटा छोरा चाहिने भनेर धेरै सन्तान जन्माएको तर श्रीमतीको उमेर सकिएपछि सन्तान जन्माउन बन्द भएको उनले बताए । तर पछि आएर छोरा होस् या छोरी, सन्तान आफ्नै हुन् । छोराको काम छोरीले पनि गर्न सक्ने रहेछन् भन्ने होस खुलेको र छोराको आशमै धेरै सन्तान जन्माउनु नहुने रहेछ भन्ने होस आएको उनको भनाइ छ ।

जिल्लाको छेडागाड नगरपालिकाका एक परिवारले पनि आफ्नो वंश धान्नकै लागि सातवटी छोरीको जन्मपछि अब बुढ्यौलीले छोयो भनेर सन्तान नजन्माउने सल्लाह गरे पनि गाउँमा ईश्र्याका कारण ‘अपुत्राको सम्पत्ति प्यारो’ भनेर कुरा काट्न थालेपछि श्रीमान् श्रीमतीको सल्लाहमा नवौँ सन्तानका रूपमा छोरा जन्मिएपछि आफू खुसी भएको बताए ।

त्यसपछि कसैले अपुत्रा भनेर भन्न नसकेको ती दम्पत्तीले बताए । आफूले सन्तान धेरै जन्माए पनि आजसम्म कुनै रोग नलागेको त्यो परिवारको भनाई छ ।

तपाईको प्रतिक्रिया