६ श्रावण २०७८, बुधबार

यूवाहरुको रोजाईमा सिलाई कटाई


जाजरकोट, ६ साउन । पछिल्लो समय जाजरकोटका यूवाहरु सिलाई कटाई व्यवसायमा आर्कषित हुन थालेका छन् । देशमा रोजगारी छैन भन्दै विदेशतिर भौतारिने यूवाका लागि जाजरकोटका यूवाहरु गतिलो उदाहरण बन्दै गएका छन् । पहिले बाउबाजेले गर्दै आएको बालिघरे प्रथा छोडेर उनीहरु व्यवसाय तर्फ आर्कषित भएका हुन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नं. १ का खिमराज परियारले पहिले गाउँमा बाउवाजेले गर्दै आएको व्यवसाय २ बर्ष सम्म गरे त्यसपछि गाउँमा गरेको व्यवसायले राम्रो कमाई नहुने भएपछि उनले भेरी नगरपालिका ३ ठाँटी बजारमा एउटा सानो पसल खोले । पसल बाट राम्रो कमाई हुने भएपछि अहिले उनको जीवनमा सुखका रंग पोतिन थालेका छन् । उनले भने, ‘मैले गाउँमा नै यो व्यसाय गरेको भए अहिले सफलतामा पुग्ने नै थिइन ।’

उनको पसलमा अहिले ३ जना यूवाले काम गर्दै आएका छन् । उनले थपे, ‘सिलाई कटाई व्यवसायमा लागेपछि मैले धेरै यूवालाई स्वरोजगार अर्थात आफ्नो खुट्टामा उभ्याउन सफल भएको छु ।’ छिट्टै सिकेर काम गर्नै भएकोले युवाहरुको आर्कषण बढेको उनले बताए ।

कुशे गाउँपालिका प्रेमपरियार जाजरकोट सदरमुकाम आएर सिलाई कटाई व्यवसाय गर्न लागेको दश बर्ष भन्दा बढी भई सक्यो । उनी भन्छन्, ‘अहिले सम्म मेरो पसलमा पनि धेरै जनालाई तालिमको व्यवस्था गर्नै गरेको छु , तालिम लिन यूवाहरुको लाम नै छ अहिले ५ जना सिकारुलाई पसल बाट तालिम दिने गरेको छु ।’ उनले थपे जाजरकोटमा अहिले सिलाई कटाईमा यूवाहरु आर्कषित भएका छन् । जाजरकोट जिल्लामा सिलाई कटाई व्यवसाय महासंघ पनि स्थापना भई सकेको छ ।

महासंघको तथ्यांक अनुसार जाजरकोटमा यूवाहरुको आर्कषण बढ्दै गएको देखिन्छ । महासंघका अध्यक्ष मिलन परियारका अनुसार पहिले दलित समुदायका नागरिकले मात्र गर्नै यो व्यवसाय आजभोली जाजरकोटमा अन्य समुदायका नागरिकहरुले पनि गर्ने गरेको उनले बताए । सानो लगानी बाट अर्थात छोटो समयमा नै स्वरोजगार बन्ने भएपछि यूवाहरुको आर्कषण बढेको उनको भनाई छ ।