६ श्रावण २०७८, बुधबार

संकटमा भैसीपालन व्यवसाय


जाजरकोट, ६ साउन । जिल्लामा पछिल्लो समय भैंसीपालन व्यवसाय लोप हुदै गएको छ । भैंसीपालक कृषकको संख्या घट्दै गएपछि व्यवसाय लोप हुदै गएको हो । जिल्लामा बढ्ढै गैरहेको वन अतिक्रमणले पनि भैंसी पालन व्यवसाय समस्या परेको छ । दिन प्रतिदिन वनजंगल मासिँदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव तथा चरिचण क्षेत्र नहुदा भैंसी पालन व्यवसाय घटेको हो । तीन नगरपालिका तथा चार गाउँपालिकामा भैंसीपालन व्यवसाय पछिल्लो समयमा हराउदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको बारेकोट २, रोकायगाउँका भैंसीपालक कृषक पठे नेपालीको भनाई छ ।

‘दश÷पन्ध्र बर्ष अघि सम्म भैंसीपालनको सम्भावना राम्रो थियो, एक जना कृषकका घरमा १५ वटा भन्दा बढी भैसीपालन गरेका हुन्थे, तर आजभोली १÷२ वटा मात्र मुस्किलले भैसी पालेको देखिन्छ’ उनले भने । अहिले आएर हराउन थालेको छ । भैंसीपालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसी प्रतिको कृषकको आकर्षण घटेको जुनीचाँदे गाउँपालिकाका कृषक बलबहादुर खड्काले बताए । अन्य व्यवसाय भन्दा भैंसीलाई धेरै मेहनतगर्नु पर्ने र आम्दानी कमै हुने कृषकको, उनको भनाई छ । भैंसीपालनको लागि पकेट मानिएको लहँ, डाडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगाएतका स्थानमा भैंसीको संख्या घट्दै गएको छ ।

नयाँ पुस्ताका युवाहरुको विदेश पलाइन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले जाजरकोटमा भैंसीपालन व्यवसाय लोप हुने अबस्थामा पुगेको कुशे गाउँपालिकाका कृषक जस्वीर रोकायको भनाई छ । ‘भैंसीपालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सन्चालन नहुँदा यो पेशा संकटमा परेको हो’ उनले भने । पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायीक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुदै गएको जानकारहरु बताउँछन् ।

भैंसीपालन व्यवसाय लोप हुदाँ जिल्लामा दुध, दही तथा घिउको अभाव खट्कीदै गएको छ । पशु चौपायहरुमा विभिन्न रोगको संक्रमण हुदाँ समेत कृषकले सेवा पाउन नसकेको किसानहरु गुनासो गर्छन् । जिल्लामा १ हजार भन्दा कृषक भैंसीपालन व्यवसायमा संलग्न रहेका छन् ।

भैंसी पाल्ने भन्दा बेच्ने धेरै
आज भन्दा १० बर्ष पहिले सबैका घरमा भैंसी पालिएका हुन्थे । कुनै घरमा त तीन देखि छ वटासम्म दुहुना भैंसी हुन्थे । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका पहिले भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात मानिन्थ्योे । चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरूष अन्य काम खोज्दै भारत जाने गरेकाले ब्याउने र दुहुना भैंसी समेत मासुका लागि बिक्री गर्ने क्रम बढेको किसानहरु बताउँछन् ।

अधिकांश परिवारले भैंसी पाल्न छोडिसकेका छन् । पहिले दूध, दही, मोही र घिउ बिक्री गर्ने परिवार अहिले आफैं किनेर खाने गरेको उनीहरु भन्छन् । पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो भएको भनेर पशु स्वास्थ्य चिकित्सकले जाँच गरी प्रमाणित गरिसकेपछि मात्र मासुका लागि प्रयोग गर्न पाउने व्यवस्था छ ।

तर यहाँ उक्त नियमको बेवास्ता गर्दै मासुकै लागि सबै खालका भैंसी जिल्ला बाहिर निकासी गर्नेक्रम निरन्तर चलिरहेको छ । यता, जिल्लाको भेरी नगरपालिकाले किसानलाई अनुदानमा भैसी वितरण गरेको छ । जिल्लामा भैसीपालन व्यवसाय संटकमा परेको वेला भैसीपालनलाई प्राथमिकता दिन भैसी वितरण गरेको नगरपालिकाले जनाएको छ ।