करोडौं खर्च गरेका सडक वेकामे

स्टेचरको भरमा जान्छ, स्थानीयको ज्यान

जाजरकोट, ३१ असार । अघिल्ला आर्थिक बर्षमा जाजरकोटका स्थानीय तहहरुले सडकलाई प्राथमिकताका साथ निर्माण गरे । तर निर्माण गरेका सडकहरु अहिले सञ्चालनमा आउन सकेका छैनन् । करोडौं खर्च गरेर निर्माण गरेका सडकमा अहिले न सडक गतिलो छ नत गाडी गुड्छन् । घर नजिकै सडक पुगेपछि खुशी साटेका स्थानीय अहिले बस्ती नै जोखिममा परेपछि निकै चिन्तामा छन् । वस्ती पहिरोले बगाउँला भन्ने डर मनमा गुम्साएर स्थानीय बस्ने गरेका छन् ।

विरामी परेको वेला समेत अहिले सडकमा गाडी छैनन् स्टेचरको भरमा विरामी बोक्नुपरेको स्थानीयको गुनासो छ । बर्खाको समयमा मात्र होइन कतिपय ठाउँमा हिउँदमा समेत गाडी पाउँदैन । यस्तो पीडाका साथ वर्षे झरीदेखि हिउँदयाम सम्म स्ट्रेचरकै भरमा जिल्लाका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ ।

वडापालिका सम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । अधिकांश पालिकाले एम्बुलेन्स सेवा शुरु गरे पनि एम्बुलेन्सको भाडा तिर्न नसक्दा सर्वसाधारण स्ट्रेचरकै भरमा घण्टौं हिँडेर बिरामीलाई अस्पताल पु¥याउन बाध्य छन् ।

व्यक्तिगत स्वार्थका साथै भूगोलको अध्ययन बिना निर्माण गरिएका सडकले मानवलाई सहजताभन्दा पीडा बढी दिएको सर्वसाधारण बताउँछन् । डोजर चलाउने चालक नै इञ्जीनियर भएर सडक खन्दा बाढी, पहिराका कारण दर्जनौँ बस्ती जोखिममा पर्नुका साथै बिरामी बोक्ने बाटोसमेत वर्षायाममा भत्किएको छ ।

जाजरकोट सदरमुकामबाट कुशे जाने सडकमा हिउँदयाममा मात्र बोलेरो जीप सञ्चालन हुने गर्दछ । त्यस्तै अन्य पालिकामा समेत बोलेरो जीप मुकाम सम्म धौधौ पुग्ने गरेको छ । गाउँभरि सडक खनिएको छ तर यातायातका साधन चल्दैनन् । मानिस हिँड्नका लागिसमेत बाटो भत्किएको बारेकोट गाउँपालिका २ का भुपेन्द्र विकले बताए ।

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्णा शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो । मोटरसाइकलसमेत राम्रोसँग सञ्चालन नहुने सडक भएकै कारण उहाँ दुर्घटनामा परेको परिवारले बताएको छ । दुर्घटनामा परी घाइते हुनुभएकी शाहीलाई तत्काल लिम्सास्थित अस्पतालमा पु¥याइयो तर उपचार हुँदाहुदै उहाँको ज्यान गयो ।

मृतकको शव लिनका लागि लिम्सा अस्पतालमा स्ट्रेचर नै नहुँदा समस्या भोग्नुपरेको मृतककी छोरी तथा भेरी खबर मिडियाका अध्यक्ष नन्दा शाहीले बताउनुभो समस्या परेको बेला गाडीको कुरा त के, स्ट्रेचर नै पाउनु गाउँमा राहत हो तर त्यही पाइँदैन”, शाहीले भनिन् ।

‘एक हजार खर्च हुने ठाउँमा रु पाँच हजार खर्च गरिदिन्छन्, त्यसमा पनि सेवा प्रभावकारी हुँदैन, त्यसैले पीडित बन्नुपरेको छ’, कुशे गाउँपालिकाका प्रकाशमान सिंहले भने । गाउँमा सबै थोक निर्माण भइसक्यो भन्ने छ तर नागरिकले कुनै पनि अनुभूति नगरेको सिंहले बताए । कुशे गाउँपालिकाबाट अधिकांश बिरामीको उपचार गर्नका लागि स्ट्रेचर डोकोको प्रयोग गरिँदै आएको छ ।

सञ्चार सेवाबाट समेत वञ्चित रहेको कुशेमा स्वास्थ्य संस्थामा अहिलेसम्म मेडिकल अधिकृतले पाइला टेकेका छैनन् । हुनेखाने र पहुँचमा भएका व्यक्तिबाहेक अन्य सर्वसाधारणले उपचार नपाउँदा पीडाको भारी बोकेर बाँच्न बाध्य भएको बताएका छन् । सबैभन्दा दुर्गम पालिका जुनिचाँदेमा समेत मेडिकल अधिकृत गाउँपालिकाले करारमा भर्ना गरेर उपचार शुरु गरेको छ । अन्य अधिकांश पालिकामा मेडिकल अधिकृत करारमा भर्ना गरेर स्वास्थ्य सेवा गाउँमै दिने प्रयास गरे पनि कुशेमा अहिलेसम्म त्यो हुनसकेको छैन । त्यहाँ सर्वसाधारण बिरामी हुँदा स्ट्रेचरमा राखेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ ।

अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीको मुख्य रोजाइ अहिले भेरी नगरपालिका र नलगाड नगरपालिका नै हुने गरेको छ । ग्रामीण क्षेत्रमा स्ट्रेचर पाउनु भनेको सर्वसाधारणका लागि ठूलो राहत पाएझैँ हुँदै आएको छ । ‘थोरै सडक निर्माण गर तर १२ महिना यातायातका साधन सञ्चालन हुने निर्माण गर’ भन्ने आम नागरिकको माग कहिले पनि लागू नभएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त उपकारण नहुँदा बिरामीको हात छामेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो रहँदै आएको छ । ‘सर्वसाधारण बिरामी हुँदा सबै सेवा एकै ठाउँबाट पाइयोस् भन्ने चाहना हुन्छ तर हाम्रोमा ज्वरो नाप्ने थर्मोमिटर, उच्च रक्तचाप नाप्ने यन्त्रबाहेक अरु के नै छ र ?’ एक स्वास्थ्यकर्मीले भने । स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड विपरित हुनुले स्थानीयको ज्यान जोखिममा परेको जानकारहरु बताउँछन् । #नेपालपोस्ट खबरको सहयोगमा#

तपाईको प्रतिक्रिया