२२ असार २०७८, मंगलवार

घाइते शुभेच्छुक माथि हमला

भरत शर्मा

May be an image of 1 person

समान्यतया युद्धको नियम अनुसार दुश्मनलाई पनि घाईते भई शैयामा रहेको बेला हमला गर्न पाइदैन । तर म माथि भने युद्धको त्यो नियम समेत लागु भएन । त्यो नियम उलंघन भयो मैले मेरा अभिभावक ठानेकाहरुबाट । ओछ्यानमा थलिएको एक घाईते शुभचिन्तकलाई यसरी हमला गरियो मानौं म उनीहरुको पुस्तौं देखिको दुश्मन थिए ।

मानौं मैले उनीहरुको सर्वाेश्व हरण गरेको थिए, अझ भनौं मैले उनीहरुको जीवन तहसनहस नै बनाएको थिए । मैले कल्पना समेत गरेको थिएन कि मान्छे विना कारण यति सम्म निर्दयी र कुरुर बन्न सक्छ, पक्षपाति बन्न सक्छ र मानवियता समेत हराउछ । जीवनमा आफुले सोचेको मात्र कहाँ हुँदोरहेछ र । भनिन्छ अनुभवहरुको संगालो हो जीवन, सायद त्यही भएर नै कल्पना बाहिरका घटनाहरुको समेत सामना गर्नुपर्छ, अनुभव लिनुपर्छ ।

हरेक मान्छेले कुनैपनि कदम चाल्नु पूर्व उसले जसमाथि जे कदम चाल्ने हो उसको सामथ्र्यको समेत लेखाजोखा गर्ने रहेछ । सायद मसंग पनि केहि सामथ्र्य छ भन्ने उनीहरुलाई लागेको भए जे भयो त्यो हुने थिएन । जहाँ कमजोर त्यही हमला गर्नु जायज हो भन्ने उनीहरुलाई लाग्नु स्वभाविक नै होला ।

आज भन्दा करीब ६ महिना अगाडी म माथि त्यस्तै अन्यायपूर्ण हमला भएको थियो । २६ मंसिर २०७७ मा हुने साथिको विहेमा सहभागी हुनुका साथै एउटा व्यक्तिगत कामका लागि म २५ गते प्रदेशको राजधानी जाँदै थिए । विगत ७÷८ वर्षको अनुभवमा मोटरसाइकलमा मेरो रफ्तार बढि नै भएपनि त्यो दिन मैले मोटरसाइकलको एक्सलेटर बटार्ने हिम्मत गर्न सकेको थिएन । सायद मनले दुर्घटनाको पूर्व जानकारी पाएर होला डर लागेको थियो । मेरो मनले भनिरहेको थियो आज जसरी पनि जोगिनुपर्छ । “हुने हार दैव नटार” भने झै विरेन्द्रनगरको सुब्वाकुना चेकपोष्ट भन्दा थोरै अगाडी एकैपटक खाडलमा परेपछि मात्र लडियो भन्ने थाहा भयो ।

रातिको समय, अर्काे तिरबाट आएको ट्रकको फोकस लाइट र नजिकै आएको फोर्स गाडीले उडाएको धुलोका कारण सधै हिडेको सिधा बाटोको अनुमान गरेर एकैपटक खाडलमा परे । सडक निर्माणको जिम्मा लिएको ठेकेदारको चरम लाहपरवाहीले नै लडिएकको भएपनि म न्याय माग्न भने असमर्थ भए । ठुलो हिमपाइपका लागि केहि घण्टा अघि मात्र सडक च्यातेर पारिएको खाडल नजिक कुनै सावधानी अपनाउने कुरा नराखिएकोले खाडलमा पुगियो ।

म उठ्न खोजे पछि थाहा भयो कि मेरो खुट्टा भाँचियो । त्यो बेला मेरो भाँचिएको खुट्टा भन्दा पहिले मन दुखेको थियो । म कल्पना गर्न नसक्ने अवस्थामा थिए तर पनि होस भने गुमाएको थिएन । खुसिमा कहिलेकाँही भुल्दिने मेरी आमालाई त्यो बेला सबैभन्दा पहिले सम्झिए । परलोक गइसक्नु भएको मेरा बालाई सम्झिए र आवाज निकालेर चिच्याए । मेरो चित्कार सुनेर आएका स्थानीयहरुको सहयोगमा खाडलबाट माथि निस्किए र सुर्खेतमा रहेका आफन्त, साथीहरु र प्रहरी प्रशासनको सहयोगमा म अस्पताल पुगे ।

अस्पताल भर्ना भएको ३ दिन पछि खुट्टाको अप्रेशन भयो । बाल्यकालमा आमाको काखमा बसेर खोप लगाएको कुरा भुलिसकेको मैले त्यसपछि कहिल्यै सुई लगाउनु परेको थिएन । नर्सहरुले पालैपालो दुबै हातका प्रत्येक नशाहरुमा लगाएका सुईका डोवहरु नै मेरो बाँकी जीवन यात्राका खुट्कीला हुन जस्तो लाग्यो । अझ भनौं तिनै सुईका खतहरुको सहारामा मेरा घाईते खुट्टाहरुले आफ्नो बाँकी गन्तव्य पुरा गर्ने छन जस्तो लाग्यो ।

असह्य पिडाले मन बेचैन थियो । दुर्घटनाको तेश्रो दिन सम्म शारीरिक र मानसिक पिडाले अनियन्त्रिक मेरो मन चौथो दिन देखि केहिहद सम्म सम्हालियो । अप्रेशनपछि प्रत्येक ३÷४ घण्टाको फरकमा दिईने औषधिको मात्राले मलाई सम्हालिन मद्दत गर्यो । सुरुमा अस्पताल नै बस्दा सहज होला सोचेको थिए तर पछि मन आत्तियो र निस्किन पाए हुन्थ्यो जस्तो भयो । डाक्टरलाई यहि कुरा सुनाए र १० दिनको अस्पताल बसाईपछि एकदिन विराएर डे«सिङ गर्न जानुपर्ने गरी डिस्चार्ज भए । अस्पतालबाट डिस्चार्ज भएपनि सुर्खेतकै एउटा होटलमा करीव २ महिना बस्नु पर्याे ।

अप्रेशन गरेको ३ महिना सम्म खुट्टा भुईमा छुन समेत नमिल्ने गरी पूर्णआराम गर्नु पर्ने चिकित्सको सल्लाह थियो । सोही सल्लाह बमोजिम मैले आराम गरिरहेको थिए । होटलको महंगो बसाईका कारण सुर्खेतमा २ महिना भन्दा बढी बस्ने अवस्था भएन र जाजरकोट फर्किए । म करीब ९ वर्ष अगाडी देखि साविक गाउँ विकास समितिको कार्यालय हुँदै हालको नगरपालिकामा न्युनस्तरको जागिर गर्दै आएको थिए ।

अभाव नै अभावको पारिवारिक अवस्था र असिमित आवश्यकताका कारण पढाई पुरा गर्न नपाउँदै जागिरमा जोडिए । अस्थायी जागिरमा जोडिनु मेरो चाहान भन्दा बढि बाध्यता थियो । मेरो सानो जागिरबाट मैले आफ्ना न्युनतम आवश्यकता पुरा गर्ने गरेको थिए । त्यो भन्दा बढी मेरी आमाका भरोसा पुरा गर्न सकेको थिए । विधुवा आमाको साहारा बनेको म मेरो साहारा त्यहि जागिर बनेको थियो । मेरो जागिरले मलाई भन्दा मेरी आमालाई सन्तुष्टि दिएको थियो । सायद हरेक बाबुआमाको सन्तुष्टि छोराछोरीको सफलता संग जोडिएको हुँदो हो ।

म अस्पतालको बेडमै रहेको बेला नेतृत्वले मेरी आमाको खुसी र मेरो साहारा माथि हमला गर्ने प्रयास गरिरहेको जानकारी मलाई पुगेको थियो । यो वा त्यो वहानामा मेरो पेटमा लात हान्ने योजना बुनिरहेको कुरा मैले सुनेको थिए । तर मलाई विश्वास थियो कि मान्छेमा मायादया नभएपनि मानवता भन्ने कुरा चाँही हुन्छ, त्यसकारण म यस्तो अवस्थामा भएको बेला त्यस्तो निर्णय हुदैन । सुनेपनि नसुने झै गर्नुको विकल्प थिएन म संग । को संग सुनाउनु ? के भनेर सुनाउनु ? मनमा जति पिडा भएपनि सहनु पर्ने बाध्यता थियो ।

म लडेको कुराले हरेक पटकको फोन सम्बादमा रोइरहने मेरी आमालाई यही बेला मेरो रोजिरोटी खोस्ने कुरा हुँदैछ भनेर म कसरी सुनाउन सक्थ्ये ? यदि त्यस्तो निर्णय भइहाल्यो भने आमालाई के भनेर सम्झाउने भन्ने कुराले थप सताइरहेको थियो मलाई । नगरको विधान सभा संगै उठान भएको उक्त कुरा सभा सम्पन्न भए संगै सेलाएछ । जाजरकोट फर्किएपछि पनि म कोठामा बस्न सक्ने अवस्थामा थिएन । त्यसकारण होटलमै बस्नु पर्याे र अहिले सम्म पनि म होटलमै छु । पुषमा बनाएको योजना उनिहरुले फागुनमा पुरा गरे । अर्थात म अस्पतालको बेडमै रहेको बेला मेरो रोजिरोटी खोस्ने उनिहको योजनाले झण्डै २ महिना पछि मुर्तरुप लियो । सक्रिय राजनितिमा भाग लिएको भन्दै म लगाएत ३ जनालाई जागिरबाट हटाउने निर्णय गरियो । रोजिरोटी खोसिएका हामी तीनै जना जागिरमा जोडिन भन्दा पहिले देखिनै स्थानीय स्तरमा पत्रकारीता गर्दै आएका थियौं ।

अझ भनौ जुन आरोप लगाएर जस्ले हामीलाई कारबाही गरे त्यो ठाउँ (तत्कालिन प्रेस चौतारी) को जिम्मेवारी लिनमा तिनिहरुले नै सहयोग गरेका थिए । पछि सोही आधारमा पेशागत संगठन (प्रेस संगठन नेपाल) को प्रदेश समितिमा नाम राखिए पछि राजनीति गरेको भन्दै एकपटक सच्चिने मौका समेत नदिई हटाउने निर्णय भयो । संगठनले हाम्रो नाम राख्ने निर्णय गरेको दिन अन्य २ जना साथीहरु कार्यालयमा हाजिर गरी नियमित कामकाजमा थिए र म विगत ३ महिना देखि ओछ्यानमा थलिएको थिए ।

सो निर्णय हामीले पनि सामाजिक संजालबाट मात्र थाहा पाएको कुरा समेत स्पष्टिकरण पत्रमा उल्लेख गरिसकेका थियौं । हाम्रो संलग्नता नरहेको कुरालाई वहान बनाएर हाम्रो पेटमा लात हान्ने काम भयो । मेरो अस्थायी नियुक्ति भएकोले सभाले निर्णय गर्नुपर्ने तथा अन्य २ जना साथिहरु तलवभत्ता समेत पञ्जिकरण विभागबाट खाने गरेकोले न्युनतम प्रक्रिया समेत पुरा नगरी अत्यन्त पूर्वाग्रही ढंगले गरिएको निर्णयले अन्याय महसुस भएको हो । नभए अस्थायी तथा करार जागिर जिन्दगीभर पाइराख्नु पर्छ भन्ने हाम्रो अपेक्षा हुँदै होइन ।

फलामले सुनलाई भन्दा फलामलाई नै पिट्दा ठुलो आवाज आउछ, सायद आफन्तको चोट बढि दुख्ने भएर होला । मलाई पनि त्यही महसुस भएको हो । म कार्यरत हुँदा मेरो कारणले संस्था र नेतृत्वलाई आँच आउने काम मैले कहिल्यै गरिन । मैले मेरो जिम्मेवारी भन्दा बढि प्रतिरक्षा गरेको थिए भन्ने मेरो दावि छ । कयौं चहानाहरुलाई हत्या गरेको छु मैले जिम्मेवारी पुरा गर्नका लागि । कुनैबेला कार्यालयमा मेरो जिम्मेवारीको अर्काे विकल्प थिएन, त्यसकारण मैले निरन्तरता पाएको रहेछु भन्ने लाग्छ । जसले बेरोजगारहरुलाई रोजगारी दिन्छन भनेर प्रचार गरियो र चुनाव जिताइयो । उनले नै अहिले झण्डै १ दशक देखि खाइपाई आएको आफ्नो रोजगारी विना कारण खोसे । जसले मेरो पेटमा लात हान्ने निर्णय गरे हो तिनिहरुको कार्यकता बनेर सहयोग गरेको थिए वर्षाैं सम्म ।

तिनिहरु जहाँ पुगेर ओछ्यानमा थलिएको बेला मेरो रोजिरोटी खोस्ने निर्णय गरे, त्यहाँ पुग्नुमा मेरो पनि सहयोग थियो । चुनावमा टिकटको टुंगो लागेपछि अधिकांशले निर्वाचनमा पार्टी पराजित हुन्छ, सदरमुकाम छोड्नु पर्छ भन्दै गर्दा चुनाव जितिन्छ, लाग्नुपर्छ भनेर हिम्मत भर्ने मध्यको एक थिए म । विडम्बना, तिम्रो आँखाको कसिंगर बन्न पुगिएछ ।

को कुन हिसावले नजिक भयो र को के कारणले कसिंगर बन्यो भन्ने कुरा समयले पुष्टि गर्ला नै । तिमिले गरेको निर्णयका कारण मेरी विधुवा आमाको आँखामा बगेको आँसु सम्हाल्न मलाई बहुत गाह्रो भएको थियो । समयले त्यो घडिमा तिमिलाई पनि पुर्याउने छ, किनकी समय बलवान छ र पृथ्वी गोलो छ ।