
खलंगा, १५ असार । जाजरकोटमा हालसम्म ६५ प्रतिशत धान रोपाई सकिएको छ । यस बर्ष समयमै मनसुन सक्रिय भई बर्षा भएपछि यतिबेला धान रोपाईमा यहाँका किसाहरु व्यस्त भएका छन् । निषेधाज्ञाको समयमा किसानहरू सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न खटिरहेका छन् । जिल्लामा कुल ३ हजार ६३ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।
जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १ सय २८ प्रजातीको धान सुचीकृत गरेको छ तर किसानहरू बढी उत्पादन लिन बाहिरका हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ ।
कृषि विकास कार्यालयले जिल्ला धान उत्पादन बढाउन धान ब्लक र धान प्रवद्र्धन कार्यक्रमहरु गर्दै आएको छ । खेतीका लागि सुहाउँदो माटो, प्राविधिक सहयोग र परामर्श समेत गर्दै आएको कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले बताए । अधिकारीले भने, ‘अहिले जिल्लामा ६५ प्रतिशत धान रोपाई सकिएको छ र असार २५ गते भित्र सम्ममा करिब सम्पुर्ण खेतको रोपाई सकिने अनुमान गरिएको छ ।’
कार्यालयका सुचना अधिकारी टोपबहादुर नेपालीको अनुसार अघिल्ला बर्षहरु भन्दा यस बर्ष समयमै पानी परेकोले धान उत्पादनमा वृद्धि हुने आकलंन गरिएको छ । निषेधाज्ञाको समयमा जिल्ला बाहिर नगएका किसानहरुले समेत आफ्ना खेतबारीमा धान रोप्न व्यस्त देखिएका कारण धान लगाउने क्षेत्रफलमा समेत वृद्धि हुने बताईएको छ । आकाशे पानीको भरमा धान रोपाई गर्ने किसान भने निकै खुशी भएका छन्
















































। १५ असार २०७८, मंगलवार