जुनीचाँदेका नीति तथा कार्यक्रमका प्राथमिकताहरु


खलंगा, १२ असार । जुनीचाँदे गाँउपालिकाले छैटौ गाँउ सभा तथा बजेट सभामा लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले आगामी बर्षको निति तथा कार्यक्रम र बजेट मजकोटको परालेमा प्रस्तुत गरेकी हुन् ।

उनले प्रस्तावित गरेको बजेटमा बैंक खाता छोरी सुरक्षा जीवनभरी, सुत्केरी सँग उपाध्यक्ष भेटघाट कार्यक्रम लाई निरन्तरता दिनुका साथै जुनी बस्तीमा युद्ध संग्रहालय निर्माण गर्ने, खरको छानामुनी रहेका नागरिकलाई टिनको छानामुनी बस्ने बनाउने, विद्यार्थीलाई अनुदान सहयोग, टिमुर र ओखर पकेट क्षेत्र निर्माणमा अनुदान लगायतका लोकप्रिय कार्यक्रम अघि सारिएको छ ।

दश वर्षे जनयुद्धको उदगम स्थलको रुपमा रहेको जुनी बस्तीमा युद्ध संग्रहालय निर्माण गर्न रु २५ लाख रुपैया विनियोजन गरिएको छ । जुनीचाँदे समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार” निर्माण भन्ने नाराका साथ गाउँपालिकामा रहेका मुख्य पर्यटकीय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां, देउराली पाथीभरा, मालिका, नदाईडाब भगवतिमाई लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी सम्भाव्यता स्थलहरुको संरक्षण र सम्वर्द्धन गर्नका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गरिनेछ ।

सुरक्षित नागरिक आवाश कार्यक्रमलाई प्रभावकारी बनाउन खरको छानामुनी रहेका नागरिकलाई टिनको छाना भित्र बस्ने ब्यवस्थापन गर्न २ सय ४० वटा नयाँ छाना निर्माणको लागि रु ४५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । त्यस्तै यस जुनीचाँदे गाउँपालिकाबाट दक्ष जनशक्ति उत्पादनका लागि एम. वि. वि. एस., ईन्जिनियर, स्टापनर्स, एच.ए. र फार्मेसी र कृर्षि तथा भेटनरी विएसी. एजी. छात्रवृतिमा अध्यनरत विद्यार्थीलाई अनुदान सहयोग दिने व्यवस्था मिलाएको छ ।

बजेटमा सुत्केरी सँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरी प्रत्येक सुत्केरी आमा तथा बच्चालाई (न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा एक धार्नी तोरीको तेल वितरणको लागि आवश्यक बजेटको ब्यवस्था मिलाई सो कार्यक्रमलाई निरन्तरता दिनका लागि रु १५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । बैंक खाता छोरी सुरक्षा जीवनभरी, नारालाई आत्मसात गरी आर्थिक वर्ष २०७८ साउन १ देखि जन्मने छोरीहरुको नाममा गाउँपालिकाले खाता खोली रु १० हजार बचत गर्ने कार्यक्रमलाई निरन्तरता दिनका लागि रु २० बिस लाख रुपैया बिनियोजन भएको छ ।

जेष्ठ नागरिकसँग अध्यक्ष भेटघाट कार्यक्रमलाई सञ्चालन गर्न ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च बापत रु ५ हजारका दरले प्रोत्साहन दिन कार्यक्रमको लागि रु ३ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत दीपक कुमार शाहीले बताए । यस गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगी, बालबिकास शिक्षक र बिद्यालय सहायक कर्मचारीहरुको पारिश्रमिकमा मासिक रु दुई हजार तलब बृद्धिको लागि आवश्यक वजेटको ब्यवस्था मिलाइएको छ । बालविकास शिक्षकलाई संघिय सरकारले पनि दुई हजार बृद्धि गरेको छ ।

स्थानीय स्तरमा उत्पादन हुने बस्तु जस्तैः धान, मकै, गहु, कोदो, भट्टमास, जौ, फापर, आलुर सिमि लगायतका रैथाने बालीको उपयोगमा प्राथामिकता दिई “खेती योग्य जमिन बाझो नराखौ आफुले खेति गर्न नसके खेति गर्न सक्नेलाई दिउ” भन्ने नारालाई आत्मसाथ गर्दै खेति नगरिएको उत्पादनशिल जमिन कृषि उत्पादनको लागि उपयोग गर्न कृषकलाई खेती गर्न प्रोत्साहन गरिने कुरा बजेटमा उल्लेख गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए । जुनीचाँदे गाउँपालिका वडा न. ११ र ४ लाइ टिमुर पकेट क्षेत्र ६ र ७ लाई ओखर पकेट क्षेत्रका रुपमा घोषणा गर्दै आवश्यक बजेटको ब्यवस्था गरिएको छ ।

गाउँपालिका गौरवका आयोजना घोषणा गरी प्रदेस सरकारको समपुरक सहित ओखडा—जुनी—जुम्ला सडकको लागि रु १ करोड रकम विनियोजन गरिएको छ । लामातडा—गर्खाकोट—बुद्धिडाडा—जुम्ला सडक (क्रमागत) संघीय सरकारको समपुरक अनुदान सहित रु २ करोड ३० लाख बजेट बिनियोजन भएको कावा अध्यक्ष आचार्यले बताइन । यसैवीच उपाध्यक्ष समेत रहेकी कावा अध्यक्ष आचार्यले जुनीचाँदेको आगामी बर्षको लागि ५० करोड ८९ लाख ७ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

तपाईको प्रतिक्रिया