खप्तड गोल्डकप : थ्री स्टार र जनजागृति भिड्दै

धनगढी । ललितपुरे क्लब थ्री स्टारले सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा बुधबार सिमराको नव जनजागृतिसँग खेल्दैछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौंथो भएको थ्री स्टारले प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइनलमा जनजागृतिसँग खेल्न लागेको हो ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने थ्री स्टार र जन जागृतिबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी तीन ‘ए’ डिभिजन क्लबमध्ये थ्री स्टार बलियो टिम हो ।  त्यसैले जनजागृतिविरुद्ध थ्री स्टारले सहज रुपमा जित निकाल्ने अनुमान गरिएको छ ।

तर, बुटबलको सुनौलो संगम क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको जनजागृतिले थ्री स्टारलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।

यस अघि भएको पहिलो क्वाटरफाइनलमा भारतको कंचनजंघा एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक सुदूरपश्चिम-११ अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया