ओझेलमा कुदुको भुमेश्वर गुफा


जाजरकोट, २९ जेठ । जिल्लाको भेरी नगरपालिका वडा नम्वर १३ कुदु स्थित भेरी नदीको छेउमा रहेको भुमेश्वर शिव गुफा नदेख्नेहरुका लागि केहि पनि छैन तर त्यहाँ गएर फर्कनेहरुका लागि भने केहि खास छ ।

थाहा पाएर या नपाएर गुफामा जाने जो कोहि पनि पहिलो पटकमै गुफा भित्रको कलात्मक अलौकिक आकृतिहरु एवम दैवीय स्वरुपहरुको सुन्दरताले मोहित हुन्छन् । छेउमा कहिले सुसाउदै, कहिले शान्त भएर वग्ने निलो भेरी नदी अनि छेउको कडा चट्टान भित्र कलात्मक मुर्ति र विभिन्न लौकिक, अलौकिक आकृतिहरुको सुन्दरताले गुफामा जाने कोहिलाई पनि मोहित पार्ने गरेको छ ।

दुई तीन सय वर्ष अघि भुमेश्वर नामका महात्माको ध्यानस्थल रहेको उक्त गुफाको पहिचान भने आज भन्दा ९३ वर्ष अघि मात्र पत्ता लागेको स्थानीय वुद्धिजिवीहरुको भनाई छ । उनीहरु भन्छन्, ‘आफना वुवा वाजेले उक्त गुफामा ध्यान गर्दा गर्दै भुमेश्वर नामका साधु एकाएक ओलप भएको अर्थात हराएको भनेर आफुलाई जानकारी छ ।’

पक्की सडकमा सरर गाडीवाट ओर्लिएपछि जाजरकोटको कुदु र रुकुम चौरजहारीको फराकिलो फाँट अनि वरीपरी हरियो जंगलमा अग्लिएका सुन्दर पहाडहरुको दृश्यावलोकन गर्दै भेरी किनारतिर ओर्लनेहरु भुमेश्वर गुफामा पुगेपछि झन लोभिन्छन् ।

१९८२ सालतिर स्थानीयहरुले कुदुको छेउमा गुफा भएको कुरा पत्ता लगाएको स्थानीय जानकारहरु बताउँछन । गुफा भित्रका शिव लिंग र विभिन्न देवीदेवताका कलात्मक आकृतिहरु देखेर स्थानीयवासीले गुफा भित्र पुजा लगाएर वनाई धार्मिक गतिविधिहरु गर्न थालिएको छ ।

भुमेस्वर गुफामा विशेष गरि शिवरात्रीका दिन भव्य मेला पुजाआजा उक्त गुफामा अन्य महत्वपुर्ण चाडहरु एकादशी, रामनवमी, दशैं लगाएतका पर्वहरुमा पनि स्थानीयहरुको ठुलो उपस्थिति हुने गरेको छ । भुमेस्वर नामका वावा जी गुफामा वसेर पुजा आजा र ध्यान गर्ने गरेको कुरा पत्ता लागेपछि स्थानीयले २८ वर्ष अघि देखि भुमेस्वर गुफामा चासो देखाउन थालेको वताइएको छ ।

उक्त गुफालाइ व्यवस्थित वनाएर पुजा आजा गर्ने मन्दिर वनाउने र सहज पहुज निर्माण गर्ने काम भने ७ वर्ष अघि मात्र सुरु गरिएको स्थानीयहरुको भनाई छ । अजंगको पहाडको गर्भमा रहेको ठुलो गुफा भित्र ठुलो हल जस्तो कोठा अनि त्यहि कोठामा निकै कलात्मक रुपमा चट्टानको छातीमा आफै वनेका मुर्तिहरु, अन्य आकृतिहरु र विच भागमा शिव लिंग माथि चटटानवाट पानी चुहिने दृस्य निकै रमाइलो देखिने गरेको छ ।

गुफाको वाहिरी आँगनमा वसेर भेरी नदीको मन्द गतिमा सुसेलिएर वग्ने आवाज र अनि तल सम्म नागवेली स्वरुपमा वगेको दृश्य गुफा क्षेत्रको अर्काे रमाइलो पक्ष हो । केहि वर्ष पहिले सम्म धार्मिक पर्वका वेला शिवलिंगमा गाइको दुध आफै माथि चट्टानवाट खस्ने गरेको वुढापाकाहरु वताउछन् ।

पछिल्लो समयमा शिवलिंगमाथि चटटानवाट पानी निरन्तर रुपमा खस्ने गरेको उनीहरु सुनाउछन् । गुफामा मुर्ति र विभिन्न धार्मिक प्रकृतिका आकृतिरु भेटिएपछि अखण्ड किर्तन नामको पुजा लगाएर स्थानीयले उक्त गुफालाई भुमेश्वर शिव मन्दिर गुफाको नाम दिएका हुन् । यस्तो धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न आवश्यक रहेको छ । स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया