गजल
मालिक म श्रम गर्ने श्रमिक हुँ मलाई भिखारी नसम्झनुहोस्
मैले मेरो अधिकार मात्र मागेको हो अत्याचारी नसम्झनुहोस्
घरमा बाको फाटेको चप्पल आमाको पुरानो सारी फेर्नुलाई
सडकको छेउछाउमा गिट्टी कुटेको बिरोजगारी नसम्झनुहोस्
यहाँ गरिबहरु दिन – दिनै गरिबीको भोग प्यासले मरेका हुन
सरकार अब यसलाई अल्पकालीन माहामारी नसम्झनुहोस्
तँ सानो म ठूलो जातको भन्दै अदालत सम्म पु¥याउनु भयो
म असल प्रेमी हुँ तपाईंको छोरीको बलात्कारी नसम्झनुहोस्
बिचार गर्नुहोस् तपाईंको कुनैदिन शिर झुक्न सक्छ महोदय्
आफ्नो यो चरीत्रहीन छोरीलाई मात्र सभ्य नारी नसम्झनुहोस्
अध्यक्ष
भाबुक रिदम बाबू
जाजरकोट
गजल
जिन्दगी मलम बन्न सकेन खन्जर बन्यो
नदी बनाउन खोजेको थिएँ बगर बन्यो
वचन लगाएर पीडा दिनुको पनि हद हुन्छ
तिम्रा वचनको प्रहारले दिल पत्थर बन्यो
जिउँनलाई पनि प्रक्रिया निभाउनु पर्ने रहेछ
समय मालिक बन्यो अनुपम नोकर बन्यो ।
आफ्नै पैतालाहरु टाउँकोमा टेकेर जान्छन्
कस्लाई देखाऊ छातिमा कस्तो असर बन्यो
तिम्रो स्पर्शले म सँधै बाँच्ने छु भन्थिन उनी,
चितामा राख्दा उनलाई छुने अवसर बन्यो ।
धिरेन अनुपम
सुर्खेत
गजल
मनमा आमा लिएर हातमा राहदानी लिएर
परदेश छिरेको हुँ एक थान जिन्दगानी लिएर
मलाई त्यहीँ बिद्यालयको शिक्षक हुन मन छ
कम्तिमा फर्किन पाहिन्छ तिम्रा बाबू नानी लिएर
म रूमाल बन्न सकु जुन आमाको हातमा परोस्
ताकि आमाले हिड्न नपरोस आँखामा पानी लिएर
बुढी आमा सडकमा छिन छेवैमा सानो नानी छिन्
धेरैलाई अवसर आयो पुगेर फर्किए काहानी लिएर
आमा भन्नू हुन्छ मान्छे चिन्नु होसियार रहनु नानी
बालाई चिनेको बर्षाै भयो कहाँ जाउँ जवानी लिएर
महेन्द्र शाही ‘समीरण’
जाजरकोट
गजल
न कहिल्यै अंगालो हाल्छेउ नत साथ हुन्छ
निर्जीव सिरानी जस्तै सुति रहने काँध हुन्छ
सुन्ने चाहाना छदै छैन तिमी आएको खबर
मलाई न त हर्ष भैदिन्छ न त बिस्माद हुन्छ
बिस्तारै ऐठेनहरुले गलाउदै लिएका छन्
मलाई थाह छैन मेरो अन्तिम कुन रात हुन्छ
एक युग थियो छातिमा उस्को फोटो राख्ने
अहिले मनमा मृत्यु आँखामा सराब हुन्छ
सरकार हजुरको मात्र हो डिजिटल प्रबिधि
हाम्रो गाउँमा बोल्दा पनि औठा छाप हुन्छ
जनक चन्द ’ऋतु’
जाजरकोट
गजल
सुन्दरै सुन्दरताले भरिएको देश नेपाललाई हेर
त्यहीँ देशका खोला नाला अनि हिमाललाई हेर
त्यो एउटै तस्बिर हेरि मन बुझ्दैन भने हेर प्यारी
लेख बेसि भंज्याङ चौतारी खोला ताललाई हेर
सानो , ठूलो , जेठो , कान्छो केहि पनि भन्दैन्
साँच्चै अचम्मको लाग्छ , त्यो काल लाई हेर
उड्न सिक्ने हो भने र टोक्न सिक्ने हो भने
कसरी उड्छ कसरी टोक्छ अरिङगाल लाई हेर
दिप कसरी गजलकार भयो, त्यो सोच्दै नसोच
सबै सिक्छौ , सामाजिक त्यो संजाललाई हेर
दिपेन्द्र सिंह ’दिप’
जाजरकोट
गजल
गाउँमा बा, आमा कसरी जीएका छन् बुझ्नुपर्ने
शहरमा मागे जति पुर्याइदिएका छन् बुझ्नुपर्ने
बाबू तँ, सधैं, फोन गरेर महङ्गो अडान राख्छस्
तेरा लागि कति खेतबारी बेचिएका छन् बुझ्नुपर्ने
कानुन अझै सबुत माग्दैछ बलात्कार भएको
छोपिनु पर्ने अंग सबै देखिएका छन् बुझ्नुपर्ने
आँखा ओभानो देखेर उसले खुशी रहेछ सोंची
मेरै वियोगमा आँसु सिधिएका छन् बुझ्नुपर्ने
बुढोलाई विमान चडाउने सपना देख्नु पहिले
काठका बाकसमा पनि फर्किएका छन् बुझ्नुपर्ने
राज समर्पण शाही जाजरकोट
हाल– कोहलपुर ११ बाँके
गजल
म सँग मेरि बुढिआमा छन् लिन् मिल्दैन
भगवान् म बच्चै छु मलाई दुख दिन् मिल्दैन
बा मलाई परदेश पठाउने कुरा नगर्नुहोस्
हजुरको बुढेसकाल भो अब छुटिन मिल्दैन
शताब्दी खराब चल्दै छ बिचार गर्नुहोला
अचेल आफ्नै साथी सँग जिस्किन मिल्दैन
ए ! धोका दिएर जाने धोकेवाज तिमिले
अर्कैको हो “मनु“ अब सम्झिन मिल्दैन
मनोज दाहाल “मनु“
सल्यान
गजल
अभागी निधारमा तक्दिर पठाईदेउ
फुल पठाईदेउ कसैले अबिर पठाईदेउ
बहिनि लुटिन सक्छ अदालतबाट
आमा लुटिएको नजिर पठाईदेउ
उनीलाई महँगो उपहार चाहिएको छ
गर्धन काटेर कसैले शिर पठाईदेउ
रगतले नुहाउन बधशालामा होइन
पापीलाई पाप पखाल्न मन्दिर पठाईदेउ
मेरा खुसिहरु पिजडामा राख्नु भन्दा,
जल्लाद पठाईदेउ मुदिर पठाईदेउ
घनश्याम राना ऋतु
चिङ्गाङ गाउँपालिका –४, सुर्खेत
गजल
आउ एकछिन् वार्तालाप गरौं को दु ःखी रहेछ
हामी भन्दा ऊ चोकको सालिक खुसी रहेछ
मफलर दियौ उपहार घाटिको पासो बन्यो
खास दिनु पर्ने तिम्ले उपहार घडी रहेछ
तिमी मेरो जिन्दगी हौ भनेर प्रचार गरि रहन्थ्ये
मलाई के था ऊ अरु कसैको जिन्दगी रहेछ
मालिक तिम्रो बिरुद्धमा बोले जिब्रो काटियो
मैले गरि राख्नुपर्ने जिन्दगीभर चाकरी रहेछ
म यो मृत्यु भन्दा एक कदम अगाडि छु सोच्थे
बल्ल बुझे म भन्दा एक कदम मृत्युु बढि रहेछ
महेन्द्र क्षेत्री ‘स्पन्दन’
डोटी
हाल काठमाडौं
गजल
तिम्रो समिप सरु सरु जस्तो लाग्छ
अब तिम्रै भर परु परु जस्तो लाग्छ
हामी दुवै जना प्रेमील बात गर्दै
सङ्गै जंघार तरु तरु जस्तो लाग्छ
जिन्दगीमा जति कष्ट भए ता पनि,
तिम्रै काखमा मरु मरु जस्तो लाग्छ
मलाई माया गर्छु भन्ने सयौं थिए
म तिम्लाई नै गरु गरु जस्तो लाग्छ
मानिस बाँच्न सक्दो रहेछ मायामा,
मायाको ज्ञान छरु छरु जस्तो लाग्छ
सुशीला पौडेल
अर्घाखाँची
हाल ललितपुर
गजल
मनुष्य भएर यस्तो सोच कहाँबाट आउने रहेछ
धनका लागि अर्काको ज्यान पनि जलाउने रहेछ
उ घाम हुँदा खेरि म जून हुने सोचेको थिए
महोदय, म उदाउँने समयमा उँ अस्ताउने रहेछ
मलाई केही गुनासो छैन छाडी जानेहरू सँग
अक्सर साचो प्यार गर्नेले नै प्रेमी गुमाउँने रहेछ
आज एक अनाथ बालकलाई मुस्कुराएको देखे
उँ सधैं भरी आमालाई सम्झेर मुस्कुराउने रहेछ
हिजो सरकार माथि गद्दार गर्ने मान्छेहरू पनि
आज यो देश चलाउने मन्त्री बन्न पाउँने रहेछ
अब म फूल बनेर उसलाई माली बनाउछु सोचे
उस्ले त कोपिला मै फूलहरूलाई चुडाउने रहेछ
सिर्जना खत्री
सुर्खेत
गजल
कसले दहि मथेर महि बनाउँछ मदानीले जस्तो
प्रेमीका हुँ भ्याउँन नसकुला श्रीमतीले जस्तो
यो समय सँग मेरो के दुश्मनी रहेछ सोचिरहेछु
सधैं किन रुवाउँछ यसरी छुटेको प्रेमीले जस्तो
साँच्चै कठपुतली जिन्दगी यस्तो दौडाइमा छ
हेर्नुस् त चलीरहनुपर्छ हातको घडीले जस्तो
उ तिम्रो भलाईको लागि हिँडेथ्यो साथी सम्झेर
तिमी जहिल्यै कुरा गर्छौ यार बिरोधीले जस्तो
सहरको लहरमा बृद्ध बा आमा त्यो दिन पसेथ्यो
जब सरकार पाखो बगाएर गयो बाढीले जस्तो
सुशीला श्रेष्ठ
दोलखा जिरी
गजल
हुने गर्छ अचेल धोकाको प्रहार किन होला ?
आफ्ना भन्नेहरूबाटै लगातार किन होला ?
म बिरामीको पिँजडाबाट निस्किन खोज्छु ,
बदलामा जहर भन्दै दिन्छन् उपचार किन होला ?
हिजोसम्म नारी सम्मानको वकालत गर्नेले ,
बहुविवाह गरेर देखायो चमत्कार किन होला ?
महोदय नयनबाट अविरल अश्रु बगेको छ ,
मैले आफ्नाबाट पाउन सकिनँ प्यार किन होला?
गणतन्त्रमा जनताको शासन हुन्छ भन्थे !
दोषी खुलाचार निर्दाेषी कारागार किन होला?
मन्दिरा खड्का
रामेछाप
। २५ जेष्ठ २०७८, मंगलवार