सोती हत्याकाण्ड : ‘अपराधीहरुलाई जेल सजाय हुनुपर्छ’ पीडित परिवार यस्तो भन्छन् (हेर्नुहोस भिडियो)

खलंगा, १० जेठ । रुकुम हत्याकाण्ड भएको एक बर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन् । एक वर्षदेखि न्यायको लागि जिल्ला अदालत (पश्चिम रुकुम) देखि सर्वोच्च अदालतसम्म धाएका उनीहरु न्याय पाउनेमा अझै विश्वस्त छैनन् ।

भेरी नगरपालिका–४, रानागाउँका नवराज बिकसहित ६ जना युवाको २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा सामूहिक हत्या भएको थियो । घटनामा संलग्नमाथि सजायको सुनाई हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनलाल बिकले बताए ।

हत्यामा संलग्न ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने भन्दै सोमबार भेरी नदी किनारमा लाखबत्ति बालेर पूजा गरिएको उनले बताए । ‘हत्यारालाई जन्मकैदको सजाय भएको भए छोराको आत्माले शान्ति पाउने थियो,’ उनले भने, ‘हेर्दाहेर्दै एक वर्ष बित्यो, शक्ति र पहुँचको कारण न्याय पाउन ढिलाइ भइरहेको छ ।’

सोमबार नवराजका साथै अन्य मृतकहरु सन्जु बिक, गणेश बुढा, लोकेन्द सुनारका बुवा–आमाले छोराहरुको सम्झनामा लाखबत्ति पूजा गरे । लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘हाम्रो कामनाले हत्यारालाई जन्मकैद होस् ।’

पीडित परिवारका सदस्यहरु न्यायको लागि ४ पटक रुकुम जिल्ला अदालत, ४ पटक उच्च अदालत सुर्खेत र २ पटक सर्वोच्च अदालत पुगेका छन् । घटनाको मुख्य योजनाकार दावी गरिएका प्रकाशी मल्ल समेत ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको मुनलालले बताए । एकपछि अर्को छुट्दै जाँदा पीडितले न्याय पाउने विश्वास पनि घट्दै गएको उनको भनाइ छ ।

छोरा गुमाएको एक वर्ष बित्दा समेत सोमबार नवराजकी आमा उर्मिलाका आँखा रसाएका देखिन्थे । जातभातकै कारण एकमात्र छोरा गुमाउनु परेको उनले बताइन् । ‘ठूला नेताहरु हत्यारालाई बचाउन लागिपरेका छन्, हामी दलितका लागि को लडिदेला ?’ उनले भनिन् ।

याे हेर्नुहाेस भिडियाे :

तपाईको प्रतिक्रिया