
पत्रकारहरु संग दुःख पोख्दै नवराजकी आमा उर्मिला
खलंगा, १० जेठ । साेती हत्याकाण्ड भएको एक बर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन् । एक वर्षदेखि न्यायको लागि जिल्ला अदालत (पश्चिम रुकुम) देखि सर्वोच्च अदालतसम्म धाएका उनीहरु न्याय पाउनेमा अझै विश्वस्त छैनन् ।
भेरी नगरपालिका–४, रानागाउँका नवराज बिकसहित ६ जना युवाको २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा सामूहिक हत्या भएको थियो ।
घटनामा संलग्नमाथि सजायको सुनाई हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनलाल बिकले बताए । हत्यामा संलग्न ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने भन्दै सोमबार भेरी नदी किनारमा लाखबत्ति बालेर पूजा गरिएको उनले बताए ।
‘हत्यारालाई जन्मकैदको सजाय भएको भए छोराको आत्माले शान्ति पाउने थियो,’ उनले भने, ‘हेर्दाहेर्दै एक वर्ष बित्यो, शक्ति र पहुँचको कारण न्याय पाउन ढिलाइ भइरहेको छ ।’
सोमबार नवराजका साथै अन्य मृतकहरु सन्जु बिक, गणेश बुढा, लोकेन्द सुनारका बुवा–आमाले छोराहरुको सम्झनामा लाखबत्ति पूजा गरे । लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘हाम्रो कामनाले हत्यारालाई जन्मकैद होस् ।’

न्याय पाउँलाकी नपाउँला भन्दै गुनासो गर्दै नवराजका वुवा
पीडित परिवारका सदस्यहरु न्यायको लागि ४ पटक रुकुम जिल्ला अदालत, ४ पटक उच्च अदालत सुर्खेत र २ पटक सर्वोच्च अदालत पुगेका छन् । घटनाको मुख्य योजनाकार दावी गरिएका प्रकाशी मल्ल समेत ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको मुनलालले बताए । एकपछि अर्को छुट्दै जाँदा पीडितले न्याय पाउने विश्वास पनि घट्दै गएको उनको भनाइ छ ।
छोरा गुमाएको एक वर्ष बित्दा समेत सोमबार नवराजकी आमा उर्मिलाका आँखा रसाएका देखिन्थे । जातभातकै कारण एकमात्र छोरा गुमाउनु परेको उनले बताइन् । ‘ठूला नेताहरु हत्यारालाई बचाउन लागिपरेका छन्, हामी दलितका लागि को लडिदेला ?’ उनले भनिन् ।
११ जना साधारण तारेखमा छुटे
हत्या काण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो । तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको छ ।
११ जना तारेखमा छोडिएका छन् । अदालतले सुरु थुनछेक आदेशबाट वारदात गर्न षडयन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई १ लाख धरौटीमा, घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो । बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिकालाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो ।
त्यस्तै, सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर वुढालाई पनि साधारण तारिखमै छाडेको थियो । हत्यामा संग्लग्न मानिसहरु अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशासमेत मरेको मृतक सञ्जु विकका वुवा बलराम विकले बताए ।
कानुनी प्रक्रिया नै ढिलाई
जिल्ला अदालत रुकुमपछि उच्च अदालत सुर्खेत हुँदै सर्वोच्च अदालत पुगेको यो मुद्दाको फाइल फेरि रुकुम जिल्ला अदालत आइपुगेको छ । गत वैशाख १९ गते यो मुद्दाको फाइल जिल्ला अदालत आइपुगेको हो । जिल्ला अदालतका निमित्त स्रेष्तेदार लक्ष्मण विकले जिल्ला अदालतमा सक्कल मिसिल आइपुगेको र आदेश अनुसारका अरु काम बाँकी रहेको बताए ।
जिल्लामा निषेधाज्ञा सुरु भएकै दिन सर्वोच्चबाट मिसिल आएको र थप प्रमाण बुझ्ने तथा साक्षीको काम हुन सकेको छैन । निषेधाज्ञा खुलेपछि यो प्राथमिकतामै रहेको उनले बताए । उच्च अदालतमा न्यायाधीशबीच राय बाझिएपछि मुद्दा सर्वोच्च पुगेको र ढिलाइ भएको उनको भनाइ छ ।
मुद्दाको फैसला भैसक्नुपर्ने समय भइसकेको भए पनि यो मुद्दा फैसला हुनुमा ढिलाई भएको बताउँछन् अधिवक्ता यक्कबहादुर पाण्डे । जिल्ला अदालतको आदेशविरुद्ध प्रतिवाद उच्च अदालत जानु, उच्च अदालतको राय बाझिएपछि सक्कल मिशिल सर्वोच्चमा पठाउदा प्रक्रिया ढिला भएको उनले बताए ।
















































। १० जेष्ठ २०७८, सोमबार