माधव नेपालसहित चार जनाको निलम्बन फुकुवा


काठमाडौँ, ३० वैशाख । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो । एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो ।

कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए ।

यस्तै बैठकले एमालेले पार्टीको विवाद समाधान र राष्ट्रिय राजनीतिका विषयमा निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

‘पार्टीको आन्तरिक निर्णय र राष्ट्रिय परिस्थिति समेतलाई ध्यानमा राखेर आवश्यक पर्ने सबै काम कारबाहीको निर्णय गर्नका लागि अध्यक्षलाई अधिकार दिने निर्णय गरियो,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला नयाँ सरकार गठनको समय सीमा समेत घर्किँदैछ । यस्तोमा पार्टीभित्रको विवादले पनि विपक्षीहरूलाई सहज माहोल बनाउने भन्दै ओली लचक हुन लागेको नेपाल समूहको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया