जाजरकोटमा निषेधाज्ञा सुरु


खलंगा, १९ वैशाख । जिल्लामा निषेधाज्ञा सुरु भएको छ । राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको हो । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि जिल्लामा त्यसको चेन तोड्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला भरमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम बढेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक साता दिन निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।

एक साताको अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहरमैला, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, माछामासु पसल, औषधी तथा उपचार, बैंकको एटीएम सेवा जस्ता आवश्यक सेवाहरु र राष्ट्रिय गौरवका आयोजना लगायत अन्य सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने छन् ।

यस बाहेक एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनहरु पनि संचालन हुन पाउने छन् । तोकिएका सेवा र सवारी साधन वाहेक सबै प्रकारका सेवा, बैंक तथा वित्तिय संस्था, सवारी साधन, पसल, व्यवशाय संचालन र अत्यावश्यक कार्य वाहेक हिडडुलमा समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया