१८ बैशाख २०७८, शनिबार

जिल्लाका आम मान्छेहरुको माया ममता र यहाँको आवश्यताको अगाडि मेरो लागि जागिर ठूलो भएन : संयोजक सिंह

नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्रपंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन । नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आम धारणा छ र धेरैजसो अभ्यास पनि यस्तै छ । जुन धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता बनाउने विषयमा नेतृत्वमा आनाकानी भइरहन्छ । नेपाली समाजमा राजनीतिप्रति युवाहरुको चासो पनि कमजोर देखिएको छ पछिल्लो समयमा । जसले गर्दा राजनीतिमा आसा लाग्दा कैयौं युवाहरुले पनि सम्बन्धविच्छेद गरिरहेका छन् राजनीतिसंग । जसमा नेतृत्वको ध्यान पुगेको देखिँदैन । जाजरकोट जिल्लाको सन्दर्भमा समेत यूवाहरुलाई राजनितीक क्षेत्रमा स्थान कमै दिएको देखिन्छ । भर्खरै आफ्नो जागिर छोडेर राजनितीमा प्रवेश गरेका एक यूवा अर्थात नेपाल किसान महासंघका केन्द्रिय सदस्य एवं जाजरकोट संयोजक प्रेमबहादुर सिंह संग हाम्रो पुहँच डटकमका कार्यकारी सम्पादक कालीबहादुर नेपाली ले गर्नुभएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ ।

१ स्वागत छ ?
धन्यवाद ।

२. तपाईले जागिर छोडेर राजनितीमा किन प्रवेश गर्नुभयो ?

मैले मेरो व्यक्तिगत जीवन र निजी स्वार्थलाई कहिल्यै पनि प्रमुख ठानिन् , जागिरले मेरो व्यक्तिगत जीवन व्यवस्थापनमा सहयोग त गथ्र्यो नै तर म जन्मेको माटो मेरो जिल्लाका आम मान्छेहरुको माया ममता र त्यस ठाँउको आवश्यताको अगाडि मेरो लागि जागिर ठूलो भएन । अतः मैले जागिर छोड्नुको मूल कारण राजनीतिलाई सेवा हो भन्ने कुरालाई प्रमाणित गर्दै सामाजिक रुपान्तरण सहितको वर्ग विहिन, भेदभावरहित, सबल र समृद्ध समाज निर्माणको लागि योगदान गर्नु पर्छ भन्ने लागेर राजनीतिमा जोडिएको हुँ प्रवेश गरेको हैन् ।

३. वर्तमान नेपालको राजनितीक अवस्थालाई एक यूवाको हैसियतले कसरी बुझ्नुभएको छ ?
तपाईले भनेकै जस्तो म राजनीति शास्त्र र कानूनको विद्यार्थी भएको नाताले राजनीतिलाई मूल नीतिको रुपमा बुझेको छु । मुहान शुद्ध भयो भने बाँकी प्रवाह हुने धाराहरु अवश्य स्वस्थकर हुन्छन् । अर्थात सबै प्रकारका नीतिहरुको मूल नीति राजनीति भएकोले अरु सबै कुराहरु राजनीतिबाट निर्देशित हुन्छन् भन्ने मेरो दृष्टिकोण हो ।

वर्तमान राजनीतिक अवस्था केही जटिल बन्न पुगेको छ । केही राजनीतिज्ञले यसलाई पेशाको रुपमा बुझे, वर्ग भूले, सामाजिक धरातल भत्काए, सामाज रुपान्तरणको मुद्धा बोकेर व्यक्तिगत जीवन समृद्ध बनाउन तीर लागे । जसले गर्दा राजनीति प्रतिको विश्वास कमजोर हुँदै गयो । राजनीति त आम नागरिकको भरोसाको केन्द्र बन्न पथ्र्यो त्यो हुन सकेन, त्यसको मूल जड भनेको जो नेतृत्वमा पुगे तिनिहरु निजी मामिलामा लागे, यसलाई धन सम्पत्ति जोडने, आफन्तलाई जागिर लगाउने, अयस आराम गर्ने, विलासिताका कार्यहरुमा रमाउने गर्नु नै हो । तसर्थ म अहिलेको निर्वाचन प्रणाली माथि पुनः विचार गर्नुपर्छ भन्ने पक्षमा छु त्यो भनेको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्वन गरिनुपर्छ त्यसो भयो भने जनमतको सम्मान र कदर हुन्छ ।

जो सत्तामा पुग्छ उ बढी जनता प्रति उत्तरदायी हुन्छ । हैन, भने अहिलेको निर्वाचन प्रणाली बमोजिम अल्पमतले शासन गर्ने प्रणाली हो जहाँ दुई तिहाई मत जहिले पनि निर्वाचित प्रतिनिधीको विपक्षमा हुन्छ । त्यसैले अल्पमत लिएर निर्वाचित भएको व्यक्तिले बहुमत जनताको भावनाको सम्मान गर्न सक्दैन् । तसर्थ जहिले पनि सरकारप्रति नकरात्मक मत बढि हुन्छ । त्यो वहुमत जन्ताहरुलाई यो हामिले चुनेको र हाम्रो लागि काम गर्ने प्रतिनिधी हो भन्ने कुराको विश्वास नै हुँदैन । निर्वाचित प्रतिनिधीले पनि आम नागरिकको समग्र प्रतिनिधी म हुँ भन्ने अपनत्व समेत महशुस गर्दैन । राजनीति प्रति आम विश्वास घट्नुको कारण यो पनि हो । तथापी राजनीतिको विकल्प प्रगतिशिल राजनीति नै हो ।

४. अखिल नेपाल किसान महासंघ र अरु भातृ संगठनमा के फरक छ ? अनि तपाईको राजजितीक यात्रा अनुभव कति छ ?
मूल पाटिका जनवर्गिय संगठनहरु हुन्छन् अखिल नेपाल किसान महासंघ पनि नेकपा (एमाले) को भातृ संगठन हो । प्रत्येक भातृसंगठनको आफ्नो विधान हुन्छ सोही बमोजिम कार्य गर्छन् । राजनीतिक अनुभवको कुरा गर्दा २०५७ बाट सीता निम्न माध्यामिक विद्यालय कार्कीज्यूलाबाट एकाई कमिटिको अध्यक्षबाट शुरु गरेको हो ।

मलाई अहिले पनि स्मरण हुन्छ त्यतिबेला मेरो कक्षाको विद्यार्थीहरुको संस्कृत किताब संकलन गरेर जलाउने कार्य मैले नै गरेको थिए । नेपालमा वैज्ञानिक शिक्षा प्रणाली आवश्यक छ भन्ने चेतबाट म स्पष्ट थिएँ । त्यसपछि विद्यार्थीको एरिया उपाध्यक्ष भएर काम गरे । सदरमुकाम प्रवेश गरेपछि २०६२ मा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरे त्यसपछि अखिलमा काम गरे त्यति बेला नेकपा (एमाले) क्षेत्रीय कमिटीको सदस्य ०६५ सम्म थिए ।

०६५ मा जनसांस्कृतिक महासंघको जिल्ला अध्यक्ष भएर काम गरे । स्नातकोत्तर अध्ययनको लागि ०६७ मा काठमाडौं आइपुगे त्यसपछी अध्ययन अगाडि बढाउन आर्थिक संकट पैदा भयो सोही कारण म जागिरमा जोडिएँ । हरेक चूनौति मेरा साथि बन्दै गए, उपयूक्त समयमा छिटो निर्णय लिने मेरो पहिलो विशेषता हो त्यसमा पनि जिल्ला पार्टीले मेरो आवश्यकता महशुस गरेको बुझे, केही छलफल भयो र त्यसपछि म अखिल किसान महासंघको जिम्मेवारी सहित जिल्ला फर्के ।

५. तपाई किसान महासंघको जिल्ला संयोजक हुनुहुुन्छ, यो विषम परिस्थितीमा किसानका लागि के सोच्नुभएको छ ?
प्राकृतिक प्रकोपहरु हुन वा अन्य कुनै पनि विषम परिवेश होस् त्यो सबै प्रकारका कार्यबाट सबै भन्दा बढि प्रभावित हुने भनेकै किसान हुन् । अहिले लामो समय सम्मको खडेरीले गहुँबाली सुकेको छ, दाना लागेका छैनन्, अलि अलि लागेको पनि असिनाले सबै नष्ट गरेको छ । हावाहुरीले कृषि टन्नेल सबै क्षती गरेको छ, कोभिडको कारण किसानले उत्पादन गरेको उत्पादित वस्तु सहज बजारमा पुग्न सकेको छैन, पुगिहाले पनि उचित मूल्य प्राप्त गर्न सकेका छैनन ।

तसर्थ त्यसरी क्षती भएकोमा मुचुल्का उठाउँने, तीन तहको सरकार छ समन्वय गर्ने, मूलभूत रुपमा स्थानीय सरकारसँग समन्वय गर्ने, खास किसानले क्षतीपूर्ति पाउँने व्यवस्था मिलाउने, किसानको नाममा जाने अनुदान गैह्र किसानले उपयोग गर्ने विक्राल समस्या रहेको देखियो त्यस्तो कार्यको खण्डन गर्ने र खास किसानलाई अनुदान प्रदान गर्ने मेरो मुख्य सोच यही हो ।

अव अखिल किसान महासंघमा किन जोडिए भने म किसानको छोरो हूँ । मेरो निष्पती नै किसानको घरमा भएको हो । अहिले पनि मेरो आमा बुवाको प्रमुख पेशा कृषि नै हो । किसानलाई राज्यले हेपाहा दृष्टिकोणले हेर्ने गरेको पाईन्छ । माम वीना जीवनको कल्पना समेत गर्न सकिदैन, तसर्थ जीवन दिने किसानलाई राज्यले पहिचान गर्न पर्छ, किसान परिचय पत्र दिनपर्छ, ५५ वर्ष सम्म कृषिमा संलग्न किसानलाई त्यस पछि बाँचुन्जेल किसान पेन्सन दिनुपर्छ कृषि उत्पादनमा देश आत्मनिर्भर हुनुपर्छ, किसानलाई कृषि वीउ, कृषी औजार, सस्तो कृषि ऋण उपलब्ध गराई उत्पादित वस्तुको बजारीकरण र विमा गर्नुपर्छ भन्ने मेरो बुझाई छ । यसलाई कार्यान्वयन गर्न अखिल नेपाल किसान महासंघबाट संभव हुने भएकोले म यो संगठनको जिम्मेवारीमा पुगेको छु ।

६. वर्तमान नेपाली राजनितीमा यूवाको सहभागिता कस्ता देख्नुभएको छ ?
नेपालको सन्दर्भमा एउटा विडम्वना छ । बाँचुन्जेल सम्म यूवा नै भैरहने अझ त्यो राजनीति क्षेत्रमा । पाकिस्तानमा बेनिजिर भुट्टो ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्छिन, अष्ट्रियामा सेवास्टियन कुर्ज ३४ वर्षमा चान्सलर बन्छन्, सन्ना मारिन ३५ वर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बन्छन् अब भन्नुस नेपालमा यूवाहरु माथि त्यो खालको विश्वासको वातावरण बनेको छैन । मलाई त त्यस्तो लाग्छ चन्द्र शम्शेरले १९८१ मा दास प्रथाको अन्त्य गरे तर त्यसको आधुनिक रुपको दासताले आज पनि नेपाललाई गाँजेको देख्छु । त्यो भनेको तपाई मालिक प्रति कति वफादार बन्नु हुन्छ त्यसका आधारमा तपाई योग्य मानिनुहुन्छ ।

त्यही दास सत्ता र शक्तिको वरिपरी रहिरहने अवस्था विद्यमान छ जसको कारणले जन्ताले अनुभूति गर्ने खालका कार्यहरु हुँदैनन् । यद्यपी राजनीतिमा यूवाहरुको सक्रियता र सहभागिता बढिरहेको छ । अझ यूवालाई राज्यको हरेक निकाय, र अंगहरुमा समेत सहभागिता गराउनु अनिवार्य देखिन्छ । यूवा परिवर्तनको वाहक हो, शक्ति र सृजनाको श्रोत हो मात्र उपयोगको साधन होइनन् भन्ने कुरा आम नेतृत्वले बुझ्न जरुरी छ ।

७. नेकपा एमाले पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्षको सिफारिस गरेमा तपाईको उम्मेदवारी हुन्छ ?
म नेकपा (एमाले) को कर्मठ सिपाही हूँ । त्यसो भएको हूँदा व्यक्ति जहिले पनि गौण ठान्छु पार्टी प्रधान मान्छु । अझ भनौ म व्यक्तिवादको विरुद्धमा छु । तसर्थ पाटिले लिने हरेक निर्णय मेरो लागि स्वीकार्य र स्वागतयोग्य हुन्छ ।

८. तपाई अधिकांश समय जिल्ला बाहिर बस्नुहुन्छ भन्ने जनताको गुनासो छ, यस विषयमा कसरी प्रस्ट पार्नुहुन्छ ?
म कहिलै बाहिर छैन् जहाँ छु सधै जाजरकोटी जनता सँगै छु म जहाँ छु निरन्तर जनताको वीचमा छु । केही समय म काठमाडौंमा रहे त्यो बेला पनि म भन्न सक्छु जाजरकोटबाट औषधी गर्न आएका विरामीहरु, विभिन्न शैक्षिक संस्थामा अध्ययनरत जाजरकोटी विद्यार्थीहरु, विभिन्न पेशा, व्यवसाय गर्दा काठमाडौंमा शोषणमा परेका ठगिमा परेका जाजरकोटी नागरिकको सेवा र सहयोगमा निरन्तर सँगै छु । जाजरकोटको समस्या समाधानको लागि अझ स्पष्ट भनौं बारेकोटको माटो बाट उठेको मान्छे भएकोले अझै बढि बारेकोटको सरोकारका विषयसँग जुनसुकै वेला पनि उपलब्ध हुन सक्ने सजिलो नाम हो प्रेम बहादुर सिहं ।

९. जाजरकोटी यूवाका लागि यहाँले के सोच्नुभएको छ ?
मैले भने जस्तै यूवा उपयोग हुने साधन हैनन् विवेक प्रयोग गर्ने सिर्जनशिल परिवर्तनका बाहाक हुन् । तसर्थ यूवालाई उद्यमशिल बनाउने, सिर्जनात्मक बनाउने, स्वरोजगार बनाउने, प्राविधिक शिक्षा र उच्च शिक्षा प्राप्तिको लागि सहयोग गर्ने र मूलभूतरुपमा यूवालाई काम खोज्दै खाडी जाने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने सोचेको छु । यूवालाई नीति निर्माण, विकास निर्माण र हरेक सामाजिक तथा राजनीतिक क्रियाकलापमा सहभागि गराउने, समाज रुपान्तरणका लागि महत्वपूर्ण श्रोतको रुपमा लिनुपर्छ भन्ने मेरो बुझाई छ ।

१०. अन्त्यमा के भन्नुहुन्छ ?
महत्वपूर्ण समय दिएर मेरा विचार र धारणाहरु राख्ने मौका दिनु भएकोमा हाम्रो पहूँच डटकम परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।