९ वर्षदेखि भेरी पुल अलपत्र, अहिलेसम्म पुलको जग मात्रै !


जाजरकोट, १७ वैशाख । मध्यपहाडी लोकमार्ग अन्तर्गतको भेरी नदीस्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको छ । अहिलेसम्म पुलको जग निर्माण समेत पूरा भएको छैन । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डको निर्माण पनि अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले लिएको थियो । कम्पनीले एक सय मिटरको पुल निर्माण गर्न २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीय कमल केसीले बताए । उनका अनुसार पुलकै कारण चौरजहारी नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ ।

ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए  । ‘ठेकेदारले जग पनि निर्माण नगरी पुल निर्माणको काम अलपत्र छाडेका छन्,’ उनले भने, ‘पुल नबन्दा दुई जिल्लाको सडक सम्बन्ध अझै जोडिएको छैन ।’ पुल निर्माणका लागि आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई ताकेता गर्दा पनि बेवास्ता भएको उनले गुनासो गरे ।

पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय, दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताए । उनका अनुसार पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउन्डेसन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । ‘पुलको सबस्टक्चरकै काम पूरा भएको छैन,’ उनले भने, ‘सुपर स्टक्चरको काम झन कहिले होला ’ कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ ।

पुल निर्माणको तत्काल अघि बढाउन ताकेता गर्दै यो वर्ष दुईपल्ट पत्राचार गरिसकेको कार्यालयले जनाएको छ । इन्जिनियर पौडेलका अनुसार पुल निर्माणका लागि सुरुका वर्षमा जग बनाउन समस्या थियो । तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको उनले बताए । ‘भेरी नदीको बहाव सुरु भइसक्यो, त्यसैले सबस्टक्चरको काम गर्न चुनौती छ,’ उनले भने, ‘ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौं ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललगायतको टोलीले एक महिनाअघि आयोजनाको अनुगमन गरी ठेकेदारलाई तत्काल काम अघि बढाउन निर्देशन दिएको थियो । ठेकेदारले पहुँचको आडमा कार्यालयको ताकेतालाई बेवास्ता गर्दा पुल निर्माणमा समस्या भएको आयोजनाका सुपरभाइजर प्रशान्त यादवले बताए । ‘पुल निर्माणका लागि ल्याएका डोजर, टिपर, मिक्चरलगायत मेसिन निर्माणस्थलमा अलपत्र छन्,’ उनले भने, ‘अधिकांश उपकरण काम नलाग्ने अवस्थाका छन् ।’ उनका अनुसार पुल निर्माणका लागि ल्याएको छड, गिट्टी बालुवालगायत निर्माण सामग्री पनि निर्माणस्थलमा अलपत्र छ । उनले चाल् ुआर्थिक वर्षमा कुनै काम नभएको बताए ।

सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाईपी कन्स्ट्रक्सनका प्रोपाइटर श्रेष्ठले बताए । ‘पुल निर्माण सुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको हो,’ उनले भने, ‘समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो ।’

तपाईको प्रतिक्रिया