आफ्नै गोजीको पैसाले मास्क वितरण गरे एक प्रहरी जवानले


जाजरकोट, १३ वैशाख । जिल्लामा एक प्रहरी जवानले व्यक्तिगत लगानीमा मास्क वितरण गरेका छन ।

रुपन्देही जिल्ला घर भई जिल्ला सदरमुकाम स्थित अस्थायी प्रहरी पोष्ट ठाँटीमा विगत १ वर्षदेखि कार्यरत प्रहरी जवान पन्ने चौधरीले आफ्नो पारिश्रमिकबाट सर्वसाधारणहरुलाई मास्क वितरण गरेका हुन । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र अधिकांश व्यक्तिहरु मास्क नलगाएर हिड्ने गरेकोले आफुले १ हजार थान मास्क खरिद गरी वितरण गरिरहेको चौधरीले बताए ।

जिल्ला सदरमुकामको थाप्लेचौर स्थित भेरी नगरपालिकाको कार्यालय नजिकै ड्युटीमा रहेका चौधरीले सर्वसाधारणहरुलाई कोरोनाबाट बच्न सचेत गराउदै मास्क वितरण गर्ने गरेका छन् । कोभिडका कारण विभिन्न ठाउँमा कतिपयले अकाललमा ज्यान गुमाई सकेको र त्यो संकट जाजरकोटमा पनि आउन सक्ने भएकोले आफुले संस्थागत तथा व्यक्तिगत रुपमा नागरीकलाई सचेत गराउने काम गरेको उनको भनाई छ ।

नागरीहरुलाई कोरोनाबाट बचाउन मास्क वितरण लगाएतका कार्यमा १ महिना बराबरको पारिश्रमिक सहयोग गर्ने चौधरीको भनाई छ । स्थानीय सरकार र सरकारी संयन्त्रहरुले चासो नदिएको समयमा प्रहरी जवान चौधरीले व्यक्तिगत लगानीमा गरेको सहयोगले सकारात्मक सन्देश दिएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया