कोइलाबासमा पुग्यो सडक

काठमाडौं : नेपाल भारतको सिमानामा पर्ने कोइलाबासमा सडक बनेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ। राणाकालीन समयमै चहलपहल भएको सो स्थानमा पूर्वपश्चिम राजमार्ग बनेसँगै विस्तारै खण्डहर हुँदै गएको थियो।

साविकको राप्ती अञ्चलका सबैजसो जिल्ला र छिमेकी जिल्लाका मानिसको नुन किन्न जाने थलो कोइलाबास थियो। कोइलाबास जाँदा बाबुबाजेले घ्यू, टिमुर, खुदो र अदुवा बोकेर लैजाने तथा बिक्री गरेर नुन, मट्टितेल, कपडा र अन्य आवश्यक सरसामान लिएर आउने चलन थियो। स–साना गल्लीसहितको व्यस्त बजार यहाँ त्यति बेलासँगै गएका वा विभिन्न जिल्लाबाट गएका साथी आपसमा हात समाएर नहिँडेमा घरमै फर्केपछि भेट हुन्थ्यो। घोराही–९ का ७८ वर्षीय डिल्लीराज पोख्रेलले भने, ‘अलि हुनेखाने मानिस घोडामा जाने गर्थे भने अरु मानिस हिँडेरै जान्थ्यौं, दाङको ढिकपुरबाट पैदल हिँडेर जाँदा दुई दिनमा पुगिन्थ्यो भने जाने आउने समय पाँच दिन लाग्थ्यो।’ छ महिनालाई पुग्ने सामान एकपटकमा ल्याइने गरेको उनले बताए। पूर्व पश्चिम राजमार्ग खुलेपछि गाडी चल्न शुरु भयो, कोइलाबासको बजार विस्तारै सुनसान हुँदै गयो।

गढवा गाउँपालिका–८ खबरीनाका मनवीर बुढाको उमेर ८५ वर्ष भयो। उनको पुख्र्यौली घर नै त्यहीँ हो। उनी लमही आउँदा भारतको बाटो हुँदै कृष्णनगरको नाका भएर आउजाउ गर्थे। ‘बाटो थिएन, गाडी चल्ने कुरै भएन दिनभरिको बाटो पैदल हिँडेर पुग्नुपथ्र्यो।’ उनले विगत सम्झँदै भने, ‘आजभोलि बस गुड्न थालेका छन्, बजार जान सहज भएको छ, पहिला नागरिकता बनाउन, जग्गापास गर्न, सिफारिस लिन पनि सास्ती भोग्नुपरेको थियो।’ उनका अनुसार नागरिकता बनाउनका लागि घोराही पुग्नुपथ्र्यो, दुईदिनमा घर फकिर्ने बाध्यता थियो। बाटो बनेपछि अहिले सहज भएको छ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सडक नभएका कारण मानिसको उपस्थिति कम हुँदा कोइलाबास बजार विस्तारै सुनसान हुँदै गएको बताए। विसं २०४० अघि यहाँको चहलपहल बेग्लै थियो। पूर्वपश्चिम राजमार्ग बनेपछि यो बजार ओझेलमा पर्‍यो। साविक राप्ती अञ्चलभित्र पर्ने रोल्पा, प्युठान, दाङ, सल्यान र रुकुम जिल्लाका नागरिक यही बजार भएर आउने जाने गर्थे। बनारस पढ्न जाने बाटो पनि यही थियो।

स्थानीय तहको निर्वाचनपश्चात् कोइलाबासमा विकासले काँचुली फेर्दै गएको छ। अहिले पक्की बाटो बनेको छ। दैनिक दुईवटा गाडी कोइलाबासदेखि घोराही र तुलसीपुरका लागि आउनेजाने गर्दछन्। सोही स्थानमा गाउँघर क्लिनिक भवन तयार भई सेवा सञ्चालन भएको छ भने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको बजेटबाट खबरी नाकामा पक्की कुलो निर्माण भएको छ। सो स्थानमा सशस्त्र सीमा सुरक्षा बलको स्थापना भई बिओपी भवन निमाणाधीन अवस्थामा छ। यसैगरी कोइलाबासको वडा कार्यालयदेखि डाँडागाउँ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य शुरु भएको छ। हावाबाट बिजुली निकाल्ने परीक्षण सफल भइसकेको गाउँपालिकाले जनाएको छ।

गढवा–६ का वडाध्यक्ष सद्दाम सिद्दिकीले लमही–कोइलाबास सडक निर्माण भएपछि कोइलाबासको विकास फेरिँदै गएको बताए। ‘यातायात सञ्चालनमा छ, आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको छ। आइतबारका दिन छिमेकी मुलुक भारतबाट प्रशस्तै मानिस कोइलाबास घुम्न आउने गर्छन्”’, वडाध्यक्ष सिद्दिकीले भने, ‘विकास निर्माणका कार्यले गति लिइरहेका छन्।’ स्थानीय तहको निर्वाचनपछि कोइलाबासमा भ्यूटावर बनेको छ भने आँखा अस्पतालको भवन यही वैशाख ११ गतेदेखि सञ्चालनमा आएको छ। मुसी नाकामा खानेपानीको पूर्ण व्यवस्थापन भएको छ। टुकी बालेरै दिन कटाउन बाध्य मुसीनाकाका नागरिकले बिजुली बत्ती पुगेपछि निकै राहत महसुस गरेको उनले भने।

मुसीनाका र खबरीनाकामा आम्दा नेपालले गाउँघर स्वास्थ्य क्लिनिक भवन बनाइदिएको छ भने स्थानीय सरकारले कोइलाबासदेखि मुसी जोड्ने र मुसी धारदेखि गाउँ जोड्ने सडकको ट्र्याक खोलिसकेको छ। “पहिलेको तुलनामा तीन वर्षमा धेरै विकास देख्न पाएका छौँ’, स्थानीयवासी रामबहादुर घर्तीले भने।कोइलाबासदेखि खबरी नाका जोड्ने सडक तयार गरी ठाउँ–ठाउँमा कल्भर्ट बनाइएको छ भने खबरी नाकामा विद्युत् विस्तारको काम जोडतोडले चलिरहेको छ। वडा कार्यालयको पर्खाल, विद्यालय भवन निर्माण तथा रङरोगन, रामजानकी मन्दिरको मर्मत र चारखम्बामा नेपाल टेलिकमको बिटिएस टावर निर्माण भएको र वडा कार्यालयको पहलमा ९० घरधुरीलाई जस्तापाता वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।

भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्माण सम्पन्न भएको लमही–कोइलाबास हुलाकी सडकको भर्खरै उद्घाटन गरिएको छ। भारत सरकारको रु ६९ करोड लगानीमा ३३‍.४६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। लमहीदेखि ३३ किलोमिटरको दूरीमा रहेको कोइलाबासलाई सडक सञ्जालले जोडेको छ।

तपाईको प्रतिक्रिया