उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं : उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएका छन्।

आइतबार अपराह्न तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। सोमबारदेखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको छ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ। उपत्यकामा बढ्दो कोरोना जोखिम र यसले निम्तिने संकटलाई लिएर प्रशासन गम्भीर रहेकाले यस्तो निर्णय गरिएको काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले बताए।

शान्ति सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए। नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका कामसमेत बन्द हुने जनाइएको छ। ‘प्रशासनमा हुने भीड र यसले कोरोना जोखिम बढाउने भएकाले अत्यावश्यक सेवा मात्र दिने निर्णय गरेका हौं’, पराजुलीले भने।

तपाईको प्रतिक्रिया