भेरी नगरपालिकामा पहिलो पटक जल सम्मेलन

May be an image of one or more people, flute, temple and dais
जाजरकोट । खानेपानी योजनाहरूको सुचारुपना, प्रभावकारी व्यवस्थापन तथा दिगोपन सुनिश्चित गर्ने उद्देश्यले भेरी नगरपालिकामा आयोजित दुई दिने पालिका स्तरीय जल सम्मेलन सम्पन्न भएको छ।
“सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना” अन्तर्गत भेरी नगरपालिका वास इकाइको आयोजनामा तथा सुस्वा सुर्खेतको सहजीकरणमा सम्पन्न सम्मेलनमा ८० वटा खानेपानी उपभोक्ता समितिका प्रतिनिधित्व गर्दै ११६ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा भेरी नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू तथा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
May be an image of one or more people and text
सहभागीहरूले खानेपानी योजनाहरूको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे समीक्षा गर्दै योजनाहरूलाई प्रक्रियागत सूचकहरूअनुसार सञ्चालन गर्ने, संस्थागत विकासलाई सुदृढ बनाउने तथा दीर्घकालीन रूपमा दिगो बनाउने विषयमा छलफल गरेका थिए।
कार्यक्रमका क्रममा खानेपानी योजनाको प्रभावकारी व्यवस्थापनका लागि समग्र कार्ययोजना निर्माण गरिएको छ। साथै, उपभोक्ता समिति र सम्बन्धित पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरी साझा सहमति तथा प्रतिबद्धतासहित आगामी कार्यान्वयनलाई अगाडि बढाउने निर्णय गरिएको आयोजकले जनाएको छ।
May be an image of one or more people, people studying, hospital and crowd
भेरी नगरपालिकामा सञ्चालित जल सम्मेलनले खानेपानी योजनाको दिगोपना, संस्थागत सुदृढीकरण तथा समुदायको सहभागिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
भेरी नगरपालिका–सुस्वा परियोजनाका संयोजक कृष्ण नेपाली का अनुसार सम्मेलनबाट प्राप्त सुझाव र प्रतिबद्धताले आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रका योजनाहरूलाई अझ व्यवस्थित, उत्तरदायी र दिगो बनाउन मद्दत पुग्नेछ।
तपाईको प्रतिक्रिया