
सुर्खेत । बजेट अभावका कारण रोकिएको जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि सुरु गर्न योजना अघि बढाइएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसहित नीति तथा कार्यक्रममा ठप्प रहेका योजनालाई अघि बढाउने निर्देशन अनुरूप उक्त सडकखण्डको काम सुचारु गर्न लागिएको हो ।
यसअघि धेरै लागत लाग्ने भएपछि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणको काम ठप्प भएको थियो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।
यसअघि सुरुङमार्गको प्रिफिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको दुरी १० किलोमिटर छ । लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रव्रिmया अघि नबढेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रिफिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ । सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रव्रिmया अघि नबढाइएको उहाँले जानकारी दिनुभयो ।
२०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटीको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको प्रिफिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम ठप्प छ । अब भने सरकारले सुरुङमार्ग निर्माणको कामलाई अघि बढाउने निश्चित भएको छ ।
यसअघि गरिएको अध्ययनमा जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारी जोड्ने लक्ष्य राखेको छ ।
सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने बाटो यात्राका लागि सहज हुने छ । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापार, व्यवसायमासमेत वृद्धि हुने स्थानीयको अपेक्षा रहेको छ ।
















































हाम्रो पहुँच संवाददाता । २० जेष्ठ २०८३, बुधबार