जाजरकोटमा किशोर–किशोरी लक्षित तीन दिने तालिम सम्पन्न

जाजरकोट । जाजरकोटमा किशोरकिशोरी लक्षित तीन दिने तालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र आइपास नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालित दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली (क्च्ज्च्–ऋऋच्ज्) परियोजना अन्तर्गत जाजरकोट जिल्लामा किशोर–किशोरी लक्षित ३ दिने यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिकता र जलवायु न्यायसम्बन्धी तालिम सम्पन्न भएको हो ।

बैशाख २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको उक्त तालिमको उद्देश्य किशोर–किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिकता र जलवायु न्याय सम्बन्धी ज्ञान अभिवृद्धि गर्दै उनीहरूलाई सही निर्णय गर्न सक्षम बनाउनुका साथै सिकेका ज्ञानलाई विद्यालय तथा समुदाय स्तरमा फैलाउँदै पैरवी (एड्भोकेसी) सञ्चालन गर्न सक्षम बनाउनु रहेको थियो।

तालिममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, लैङ्गिकता र यौनिकताको व्यवहारिक अर्थ, मूल्य–मान्यता तथा धारणा परिवर्तन, सुरक्षित गर्भपतनका विधि र कानूनी प्रावधान, महिनावारी चक्र, परिवार योजना, गर्भनिरोधका साधनहरूको प्रयोग, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा, जीवन उपयोगी सीप तथा जलवायु परिवर्तनले यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव लगायतका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।

तालिमको उद्घाटन सत्रको अध्यक्षता पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका डा. अखिलेश झा तथा जनस्वास्थ्य अधिकृत रमेश कार्कीको उपस्थिति रहेको थियो।

तालिम सहजीकरण आइपास नेपालका कन्सल्टेन्ट जीवन देवकोटा र पब्लिक हेल्थ नर्स मलिना कुमालले गर्नुभएको थियो।

तालिममा कुल २० जना किशोर–किशोरीहरूको सहभागिता रहेको थियो। नलगाड नगरपालिकाका चार वटा विद्यालयबाट १० जना तथा छेडागाड नगरपालिकाका चार वटा विद्यालयबाट १० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक भीमबहादुर साउदका अनुसार तालिमपछि सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह रोकथाम तथा जलवायु न्यायसम्बन्धी विषयमा महत्वपूर्ण ज्ञान हासिल गर्दै समुदायस्तरमा सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिम अत्यन्तै उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको थियो। समापन सत्र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कोषाध्यक्ष पदमा रोकायको अध्यक्षतामा सम्पन्न भएको हो। अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया