कविता : हाम्रो कर्णाली

भौगोलिक विकटता
आर्थिक विपन्नता
खेप्दै कयौं विपद्हरु
सहदै सत्ताको चरम अन्याय
चाहेर पनि दबाईएका आवाजहरु
सदुपयोग हुन नसकेका
प्राकृतिक अनुपम उपहारहरु

खोतल्नु छ अव
खोतल्नु छ इतिहास
हराएको मौलिकता
स्थानीय सेरोफेरोमा
जन्मिएका संस्कृतिहरु
जोगाउनु छ अव
जोगाउनु छ

भूमिको उत्पादकत्व क्षमता
यस्तै सोच
र खोजको आवश्यकतामा तड्पिएको
नेतृत्वको असक्षमता र निष्क्रियताले
पीछडिएको हाम्रो कर्णाली
लुटेर गरिवीको फाइदा
दिएर रोजगारीको भाषण
जगाएर हाम्रो मनमा अभिलाषा
कति किन्छौ भोट ?
ए ! सत्ताधारी हो
थाकिसक्यौ अब
हामी कर्णालीबासी
दिएर भोट
लिएर नोट
अनि सुनेर भाषण
देखेर शासन
अव त
छोड हामीलाई
स्वतन्त्र छोड
बुझिदेउ हाम्रो पीडा
सुन
अंजुली भरी पनि अन्न छैन घरमा
फलेको कुहिन्छ
बचेको पुग्दैन
गाउँमा यूवा छैनन्
कर्णालीको माटो बारम्बार भन्छ
अव फर्कन यूवा हो फर्क
मुठी रोपी मुरी उब्जन्छ
परिश्रम गर सुन यही फल्छ

तर पनि
सम्भावना नै सम्भावनाका
बावजुद पनि
सधैं सत्ता बाट ठगिएको
हाम्रो कर्णाली

झुलेपनि मार्सी धान
फलेपनि स्याउ, सुन्तला
बाटो कुर्दैछन् किसानहरु
मोटर गाडीको
सुलीगाढ र पचालको शितलता
ताप्दै
कस्तुरीको विनाको सुगन्ध सुग्धैं
पाटनमा चाङ्ग्रा चराउँदै
अनि सुखका सपना बुन्दै
हुर्किएका कर्णालीका यूवाहरु
आज विदेशीदैछन्
जल, जमीन र खनिजले
सदुपयोगको अपिल गरिरहेछ
बोलिरहेछ यार्सागुम्बा
अरे म बेचिन तम्तयार छु
काइनाइटको शक्ति
हराभरा प्रकृतिमा रमाइरहेको रेडपाण्डाहरु
कसरी वर्णन गरु ?
म तिमीले पाएका प्राकृतिक उपहारको
कर्णाली
इतिहास, भाषा,, संस्कृति
जसले बारम्बार संरक्षणको अपिल गरिरहेछ
गौरवशाली इतिहास बोकेको
नेपाली भाषाको उत्पतिस्थल
अनेक जात
तर एक साथ
यस्तो सामाजिक विविधतामा
एकताको विशेषताले भरिएको
हाम्रो कर्णाली
देखेर
हाम्रो पछौटेपन
र हाम्रो अभावलाई
हाम्रो भावना सँग खेलवाड गर्नेहरु
खबरदार !
अब
तिमीले हाम्रो कर्णालीका सम्भावनाहरु
नजरअन्दाज गर्न पाउँदैनौं
विकासका योजनाहरु कगजमा
व्यूताउनेहरु
होसियार !
अब तिमीले
जस्ताको टहराभित्र बसेका हामी
र हाम्रो मनमा भएका गुनासो
नजरअन्दाज गर्न पाउँदैनौ
यस्तै सशक्त आवाजको खाँचोमा
छ हाम्रो कर्णाली ।

तपाईको प्रतिक्रिया