
जाजरकोट । जाजरकोटको राजनीतिमा लामो समय प्रभाव जमाउँदै आएका नेपाली कम्यूनिष्ट पार्टीका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतको संसदीय यात्रामा यसपटक नेपाली कांग्रेसका युवा नेता खड्क बहादुर बुढाले ब्रेक लगाइदिएका छन्।
शनिबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बुढाले २० हजार १४२ मत प्राप्त गर्दै विजयी भएका छन् भने माओवादी केन्द्रका बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । बुढाले बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन्।
यससँगै लगातार तीन पटक प्रतिनिधिसभा निर्वाचन जित्दै आएका बस्नेतको जितको श्रृंखला टुटेको छ।
त्यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन्।
बस्नेतको पराजयसँगै तत्कालिन नेकपा माओवादीको आधार क्षेत्र मानिएको जाजरकोटमा करिब १८ वर्षदेखि कायम रहेको वर्चस्व पनि अन्त्य भएको छ।

युवा नेता बुढाको उदय
निर्वाचित खड्क बहादुर बुढा जाजरकोटको पश्चिम क्षेत्रका बासिन्दा हुन्। उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् भने हाल नेपाली कांग्रेस जाजरकोटका जिल्ला उपसभापति तथा कार्यवाहक सभापतिका रूपमा सक्रिय छन्।
०७४ सालमा शिवालय गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका बुढाले यसपटक भने संसदीय निर्वाचनमा ऐतिहासिक सफलता हात पारेका छन्।
जाजरकोटको पश्चिम क्षेत्रबाट लामो समयदेखि प्रतिनिधित्व नपाएको कारण पनि उनले सहानुभूतिको मत पाएको विश्लेषण गरिएको छ।
बस्नेतमाथि बढ्दै गएको असन्तुष्टि
शक्तिबहादुर बस्नेत जाजरकोटका प्रभावशाली नेता मात्र होइनन्, उनी राष्ट्रिय राजनीतिमा पनि प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्। सांसद नहुँदै उनी स्वास्थ्यमन्त्री बनेका थिए भने केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने।
त्यसैगरी दोस्रो पटक ओली प्रधानमन्त्री हुँदा वन तथा वातावरण मन्त्री बनेका बस्नेत २०७९ मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा तथा जलस्रोत मन्त्री बनेका थिए।
यद्यपि लामो समय सत्ता र शक्तिको केन्द्रमा रहे पनि जाजरकोटको विकासमा अपेक्षित काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको थियो।
ऊर्जामन्त्री रहँदा पनि जाजरकोटमा हालसम्म केवल २६ प्रतिशत मात्रै विद्युतीकरण भएको तथ्यले पनि आलोचना बढाएको थियो।
भूकम्प पुनर्निर्माणमा पनि प्रश्न
२०८० साल कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि जिल्लामा ठूलो क्षति भएको थियो। तर पुनर्निर्माणमा प्रभावकारी पहल हुन नसकेको भन्दै स्थानीय स्तरमा बस्नेतमाथि आलोचना बढेको थियो। स्थानीय नेताहरूका अनुसार विकास र पुनर्निर्माणमा अपेक्षित काम हुन नसक्दा जनमत क्रमशः घट्दै गएको देखिन्छ।
पार्टीभित्रै विवाद
यसपटकको निर्वाचनअघि नेकपाभित्रै बस्नेतलाई टिकट नदिनुपर्ने आवाज उठेको थियो।
बस्नेत स्वयंले सुरुमा चुनाव नलड्ने संकेत दिएका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएपछि विवाद चुलियो।
त्यसपछि तत्कालिन माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरेका थिए।
सिंह स्वयं पनि चुनाव लड्ने तयारीमा थिए। अन्ततः बस्नेतलाई टिकट दिएपछि उनले असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए।
यस घटनाले पनि माओवादीको मत विभाजन भई कांग्रेसलाई प्रत्यक्ष फाइदा पुगेको विश्लेषण गरिएको छ।
जाजरकोटको राजनीतिक इतिहास
२०७० सालसम्म जाजरकोटमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र थिए। २०४८ देखि २०५६ सम्म यहाँ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमाले बीच हुने गर्थ्यो। माओवादी जनयुद्धपछि भने जाजरकोटमा नेकपाकाे प्रभाव तीव्र रूपमा बढ्यो।
०६४ मा माओवादीका कालीबहादुर मल्ल र भक्तबहादुर शाह विजयी
०७० मा शक्तिबहादुर बस्नेत विजयी
०७४ र २०७९ मा पनि बस्नेत नै निर्वाचित
यसरी करिब दुई दशकदेखि कायम रहेको माओवादी प्रभावलाई यसपटक कांग्रेसले तोडेको छ।
नयाँ राजनीतिक सन्देश
जाजरकोटमा आएको यो परिणाम केवल एक उम्मेदवारको हार–जित मात्र नभई राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेका नेतामाथि जनताले विकास र परिणामको आधारमा प्रश्न उठाउन थालेको संकेत यस निर्वाचनले दिएको विश्लेषण गरिएको छ।
यससँगै जाजरकोटको राजनीतिमा अब नयाँ शक्ति सन्तुलन सुरु भएको मानिएको छ।
जाजरकोट निर्वाचन : मुख्य तथ्य
खड्कबहादुर बुढा (नेपाली कांग्रेस) – २०,१४२ मत
शक्तिबहादुर बस्नेत (नेकपा माओवादी केन्द्र) – १७,४०७ मत
डम्बरबहादुर सिंह (नेकपा एमाले) – १६,८८३ मत
राघव कार्की (रास्वपा) – २,४७१ मत
मतान्तर : २,७३५
शक्तिबहादुर बस्नेतको राजनीतिक यात्रा
२०७० – पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित
२०७४ – दोस्रो पटक प्रतिनिधिसभा सदस्य
२०७९ – तेस्रो पटक प्रतिनिधिसभा सदस्य
स्वास्थ्यमन्त्री, गृहमन्त्री, वन तथा वातावरण मन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी सम्हाले
२०७९ को निर्वाचनमा मत : ३४,१५१
किन हार्न पुगे बस्नेत ?
पार्टीभित्रै टिकट विवाद
गणेशप्रसाद सिंहको पार्टी परित्याग
जिल्लामा विकास नगरेको आरोप
भूकम्प पुनर्निर्माणमा सुस्तता
पश्चिम क्षेत्रको सहानुभूति मत कांग्रेसतर्फ
जाजरकोटको राजनीतिक इतिहास (संक्षेप)
२०४८/२०५६ : कांग्रेस–एमाले प्रतिस्पर्धा
०६४ पछि : माओवादी वर्चस्व
२०७०–२०७९ : शक्तिबहादुर बस्नेतको लगातार जित
२०८२ : कांग्रेसका खड्कबहादुर बुढा विजयी
















































हाम्रो पहुँच संवाददाता । २३ फाल्गुन २०८२, शनिबार