दलित समुदायलाई हेपेर बोलेको भन्दै कुशे गाउँपालिका अध्यक्ष बस्नेतको चौतर्फी विरोध, शब्द फिर्ता लिन माग

जाजरकोट — कुशे गाउँपालिका का अध्यक्ष हरिचन्द्र बस्नेतले दलित समुदायप्रति हेपेर अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म अध्यक्ष बस्नेतको अभिव्यक्तिप्रति तीव्र आलोचना भइरहेको छ।

वडा नं. २ मा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले “ब्राह्मणहरूलाई जबर्जस्ती दलितको हातको पानी खान पठाइयो” भन्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्ति तत्कालीन जनयुद्धकालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको गतिविधिसँग जोडेर उनले टिप्पणी गरेका थिए।

अध्यक्ष बस्नेतले सो कार्यक्रममा रामदिप आचार्यलाई लक्षित गर्दै “तपाईंहरूले हिजो ब्राह्मणहरूलाई जबर्जस्ती दलितको हातबाट पानी खुवाउने कुचेष्टा गर्नुभयो, मैले त्यस्तो गरिनँ” भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक अभियान्ता प्रेम विक, रमेश घर्ती लगायत दर्जनौँ व्यक्तिले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्। उनीहरूले यस्तो अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै शब्द फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

विरोध बढ्दै जाँदा अध्यक्ष बस्नेतले आफूले दलित समुदायप्रति कुनै हेपाइपूर्ण अभिव्यक्ति नदिएको दाबी गरेका छन्। तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले उक्त अभिव्यक्ति दिएको देखिन्छ।

स्थानीय सरोकारवालाहरूले सार्वजनिक पदमा रहेका व्यक्तिबाट विभेदकारी आशय झल्किने अभिव्यक्ति आउनु दुःखद भएको प्रतिक्रिया दिएका छन्। घटनाबारे थप छलफल र आवश्यक कदम चालिनुपर्ने आवाज समेत उठिरहेको छ।

यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने मागसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया