भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

खलंगा, जाजरकोट । खलंगास्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसले आफ्नो ३९औँ वार्षिकोत्सव ४ गतेदेखि ६ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। क्याम्पस परिसर उत्सवमय बनेको थियो।

वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रशासनले विभिन्न विधामा प्रतियोगिताहरू आयोजना गरेको थियो। हाजिरीजवाफ प्रतियोगितामा विद्यार्थीहरूले ज्ञान, तर्कशक्ति तथा प्रस्तुति क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। छात्रतर्फ ब्याडमिन्टन र छात्रातर्फ भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो, जहाँ खेलाडीहरूले अनुशासन र खेल भावना प्रदर्शन गर्दै प्रतिस्पर्धा गरेका थिए।

त्यसैगरी, लोकगीत प्रतियोगिताले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याएको आयोजकले जनाएको छ। कुर्सी दौड प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

“मेरो कल्पनामा भेरी ज्ञानोदय बहुमुखी क्याम्पस” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयमा स्पष्ट र प्रभावकारी धारणा प्रस्तुत गरेका थिए। उनीहरूले क्याम्पसको भविष्यप्रतिको दृष्टिकोण, शैक्षिक सुधारका योजना तथा समृद्ध क्याम्पस निर्माणका सम्भावनाहरूबारे आफ्ना विचार राखेका थिए। उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक सोच र नेतृत्व क्षमताको विकासमा सहयोग पुगेको जनाइएको छ।

समापन तथा पुरस्कार वितरण समारोह क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा Graduate School of Humanities and Social Sciences का डिन सह–प्राध्यापक आनन्द प्रसाद सुवेदी उपस्थित भई क्याम्पसले जिल्लामा उच्च शिक्षाको विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनले आगामी दिनमा गुणस्तरीय शिक्षामा अझै जोड दिनुपर्ने आवश्यकता औंल्याए।

विशेष अतिथिका रूपमा अङ्ग्रेजी तथा नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख उप–प्राध्यापक रेशम बहादुर विष्ट तथा तिला कर्णाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक डिल्ली बहादुर सिंहले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अध्ययन र सिर्जनशीलतामा जोड दिन आग्रह गरेका थिए।

कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक जनक केसी, नेपाल स्काउटका केन्द्रीय प्रशिक्षक राजुराजा सिंह तथा नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहलगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले क्याम्पसको प्रगति र विद्यार्थीहरूको सक्रिय सहभागिताको सराहना गरेका थिए।

समापन समारोहमा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, क्याम्पसको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

तीन दिनसम्म सञ्चालन भएको ३९औँ वार्षिकोत्सवले क्याम्पसमा शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ। कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सहकार्य, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

तपाईको प्रतिक्रिया