शिक्षा क्षेत्रमा परिणाम नआए सांसद पदबाट राजीनामा दिन्छु — डम्बर बहादुर सिंह


जाजरकोट । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डम्बर बहादुर सिंहले शिक्षा क्षेत्रमा ठोस परिणाम नआए सांसद पदबाट राजीनामा दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। जाजरकोटको दीर्घकालीन विकासका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले शिक्षा सुधारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका हुन्।

१७ वर्षसम्म शिक्षकका रूपमा कार्य गरेको अनुभव बोकेका सिंहले शिक्षा क्षेत्रमा अपेक्षित सुधार नआउनु दुःखद रहेको बताए। “यति लामो समय शिक्षण पेशामा बिताउँदा पनि शिक्षा प्रणालीमा उल्लेख्य परिवर्तन देखिन सकेन, अब यो अवस्थालाई बदल्नैपर्छ,” उनले भने।

उनका अनुसार शिक्षा एजेन्डाको मुख्य उद्देश्य शिक्षक हटाउनु नभई विद्यालयभित्रको पढाइको गुणस्तर सुधार गर्नु हो। शिक्षकको क्षमता अभिवृद्धि गर्दै डिजिटल माध्यमको प्रयोगमार्फत कक्षा कोठाको सिकाइ प्रभावकारी बनाइने उनको भनाइ छ।

शिक्षा सुधार कार्यक्रमअन्तर्गत सबै पालिकामा समयमै पाठ्यपुस्तक वितरण, शिक्षकहरूको नियमित तालिम, सरकारी विद्यालयहरूमा डिजिटल कक्षा (प्रोजेक्टर र ल्यापटप) स्थापना तथा गणित र विज्ञानजस्ता विषयमा गुणस्तरीय शैक्षिक सामग्री प्रयोग गरिने उनले बताए।

डिजिटल शिक्षामार्फत एकपटक तयार गरिएको सामग्री धेरै विद्यालयमा प्रयोग गर्न सकिने भएकाले कम खर्चमा दीगो शिक्षा सम्भव हुने सिंहको दाबी छ। यसले सरकारी बजेटको प्रभावकारी उपयोग हुने उनले उल्लेख गरे।

शिक्षा सुधारसँगै अध्ययनका लागि जाजरकोट बाहिर जानुपर्ने बाध्यता घट्ने, विद्यार्थी जिल्लामै बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा यसले परिवारको आर्थिक बोझ कम गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

उक्त कार्यक्रमहरू २.५ वर्षभित्र चरणबद्ध रूपमा कार्यान्वयन गरिने र शिक्षा क्षेत्रमा भएको प्रगति सार्वजनिक रूपमा जानकारी गराइने प्रतिबद्धता पनि उनले जनाएका छन्। साथै, स्थानीय तह र सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।

शिक्षा क्षेत्रमा अपेक्षित परिणाम नआए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको सिंहले स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया