
काठमाडौं । समाजवादी युवा संगठन नेपालले फाल्गुन २१ गतेका लागि घोषित संसदीय निर्वाचनलाई “जनविरोधी, राष्ट्रघाती र स्वाधीनताविरोधी षड्यन्त्र” को संज्ञा दिँदै सशक्त बहिष्कारको घोषणा गरेको छ।
संगठनका तर्फबाट जारी प्रेस विज्ञप्तिमा वर्तमान नेपाली समाज गम्भीर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको संकटमा फसेको दाबी गर्दै यही संकटलाई ढाकछोप गर्न कथित निर्वाचन थोपरिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “विदेशी शक्तिहरूको बढ्दो हस्तक्षेपबीच नेपाली जनतालाई जालझेलमा पार्दै आफूअनुकूलका कठपुतली अनुहारहरू सत्तामा पुर्याउने षड्यन्त्र तीव्र बनाइएको छ। जनताको चाहनाविपरीत ‘निर्वाचन सम्पन्न गरायौँ’ भन्ने नाटक मञ्चन हुँदैछ।”
समाजवादी युवा संगठन नेपालले सत्ताधारीहरूले आफूअनुकूल पात्रहरू स्थापित गर्न न्यायपालिकासमेत प्रयोग गरिएको, सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दा फिर्ता लिने प्रवृत्ति बढेको र त्यही शक्तिहरूलाई निर्वाचनको नाममा पुनः सत्तामा पुर्याउने तयारी भइरहेको आरोप लगाएको छ।
“सेना र प्रहरी निर्वाचनको आवरणमा प्रयोग भइरहेका छन्, तर मतपेटिका कसरी भरिन्छ भन्ने कुरा सत्ताधारीलाई पहिल्यै थाहा छ भन्ने सन्देश बन्दुकको नालबाट दिइँदैछ,” विज्ञप्तिमा उल्लेख छ, “यो तीन करोड नेपाली जनताको सार्वभौम अधिकारमाथिको ठाडो आक्रमण हो।”
संगठनले यस्तो निर्वाचन प्रक्रियालाई लोकतन्त्रविरोधी र स्वाधीनताविरोधी अभ्यासको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ।
समाजवादी युवा संगठन नेपालका अध्यक्ष आकाश कार्कीले सम्पूर्ण नागरिक समाज, बुद्धिजीवी, शिक्षक, पत्रकार, विद्यार्थी, पेशागत संगठन र राजनीतिक दलहरूलाई सर्वपक्षीय सरकार गठनका लागि एकताबद्ध हुन र फाल्गुन २१ को संसदीय निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्न आह्वान गरेका छन्।
“अबको आवश्यकता दलाल सरकार होइन, जनताको पक्षमा उभिने स्वाधीन जनपक्षीय सरकार हो,” विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वाधीनता सुरक्षित गर्दै समाजवादी दिशातर्फ मुलुकलाई लैजान संगठन संघर्षको मैदानमा उत्रिसकेको छ।”
संगठनले अन्त्यमा “जनताको अधिकार, स्वाधीनता र समाजवादी भविष्यका लागि सशक्त बहिष्कार गरौँ, स्वाधीन जनपक्षीय सरकार गठन गरौँ” भन्ने नारासहित आन्दोलनलाई तीव्र बनाउने संकेत दिएको छ।

















































हाम्रो पहुँच संवाददाता । ५ माघ २०८२, आईतवार