जाजरकोटमा स्वतन्त्र उम्मेदवार लोकेन्द्रराज शर्माका यस्ता छ्न्,१० प्रतिबद्धता


जाजरकोट — प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लोकेन्द्रराज शर्मा ले चुनावी मैदानमा होमिन अन्तिम तयारी पूरा गरेका छन्।

लामो समयदेखि सामाजिक अभियान, सञ्चारकर्म र स्थानीय मुद्दामा सक्रिय रहँदै आएका शर्माले “जनताको भरोसा नै मेरो शक्ति” भन्ने मूल नारासहित औपचारिक रूपमा चुनावी गतिविधि तीव्र पारेका हुन्।
स्थानीय तहदेखि केन्द्रसम्म देखिएका बेरोजगारी, शिक्षा, स्वास्थ्य, सडक, कृषि र सुशासनका समस्यालाई प्रत्यक्ष अनुभव गरेका शर्माले पार्टीगत बन्धनभन्दा माथि उठेर जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार राजनीतिक दलको दबाब र स्वार्थभन्दा स्वतन्त्र भएर काम गर्न सक्ने भएकाले स्वतन्त्र उम्मेदवारी नै आजको आवश्यकता हो।
शर्माले सार्वजनिक गरेका १० प्रतिबद्धतामा—
१) किसानमुखी कृषि नीति र उत्पादनको बजार सुनिश्चितता,
२) युवालाई स्थानीय रोजगारी र सीपमूलक तालिम,
३) गुणस्तरीय शिक्षा र विद्यालय सुधार,
४) आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सुलभ,
५) सडक, खानेपानी र विद्युत् जस्ता पूर्वाधारको दिगो विकास,
६) पारदर्शी शासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता,
७) महिला, दलित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चितता,
८) विपद् व्यवस्थापन र पुनर्निर्माणमा प्रभावकारी योजना,
९) स्थानीय स्रोत–साधनको संरक्षण र रोजगारी सिर्जना,
१०) जनप्रतिनिधिको नियमित जवाफदेहिता र सार्वजनिक सुनुवाइ समेटिएका छन्।
शर्माले भने, “यो चुनाव पदको लागि होइन, परिवर्तनको लागि हो। जनताले दिएको एक–एक मतको सम्मान गर्दै म संसदमा जनताको प्रतिनिधि भएर उभिनेछु।”

चुनावी प्रचारका क्रममा उनले घरदैलो, युवासँग संवाद र नागरिक भेटघाटलाई प्राथमिकता दिएका छन्। स्थानीय मतदाताले पनि वैकल्पिक राजनीतिक नेतृत्वको खोजीमा शर्माको उम्मेदवारीलाई चासोका साथ हेरिरहेका छन्

तपाईको प्रतिक्रिया