सिकार खेल्न गएका एक जनाको मृत्यु,भरुवा बन्दुकसहित पाँच जना पक्राउ

जाजरकोट । सिकार खेल्न गएका क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पौष १३ गते बारेकोट गाउँपालिका वडा नम्बर–८, मिरिकोट खारा आसपासको जंगल क्षेत्रमा सिकार खेल्न गएका वर्ष अन्दाजी ३६ का प्रचण्ड देव सिंहको भरुवा बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली बाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सिकार खेल्ने उद्देश्यले अवैध रूपमा भरुवा बन्दुक प्रयोग गरिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा इन्द्रबहादुर सिंह, मीमबहादुर सिंह, राजिव शाही, जनक कार्की र लालबहादुर सिंह रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट भरुवा बन्दुक, फलामका चक्कु, बारुद, गोली बनाउन प्रयोग हुने सामग्री तथा अन्य हातहतियारसम्बन्धी उपकरण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध सिकार र हातहतियार प्रयोग नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया