“महाधिवेशन रोक्नुहुदैन्, नयाँ नेतृत्वपछि निर्वाचनमा जाने हो ”


खलंगा । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६–२८ गतेसम्मका लागि तोकिएको छ । तर, पछिल्लो समय महाधिवेशन समयमै नहुने खालका तर्कहरू आइरहेका छन् । यसै सन्दर्भमा कांग्रेस जाजरकोटले भने यसअघि तोकिएकै समयमा जिल्ला, प्रदेश हुँदै केन्द्रको महाधिवेशन गर्नुपर्ने बताएको छ ।

कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले बिहीबार सदरमुकाम खुलङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए ।

उनका अनुसार यसअघिको निर्देशन अनुसार, कांग्रेसको केन्द्रीय कार्यसमितिले तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको प्रारम्भिक कार्य देशभरका जिल्ला तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रले सम्पन्न गर्नुपर्ने थियो ।

जाजरकोट कांग्रेसले मंसिर १५ गते केन्द्रीय कार्यसमितिले दिएको निर्देशनबमोजिम, दिनरात खटेर बस्तीबस्ती पुगी क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको प्रारम्भिक कार्य सम्पन्न गरिसकेको उनको दाबी छ ।

कांग्रेस अधिवेशनमा सधैँ विवादको विषय बन्ने क्रियाशील सदस्यता जाजरकोटमा विवादरहित रूपमा सम्पन्न भएको पनि सिंहको भनाइ छ ।

‘बदलिएको सन्दर्भ, जनचाहना र नयाँ जनादेशको परिस्थितिले अब महाधिवेशन कुनै पनि बहानामा रोकिनुहुँदैन,’ उनले भने, ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय गरेको सन्दर्भमा जाजरकोट कांग्रेस निर्वाचनको पक्षमा प्रस्ट छ ।’

जाजरकोट जिल्लामा पार्टीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको उनले बताए ।

पुरानो सदस्यतामा करिब ५० प्रतिशत नयाँ सदस्य थपिएका छन् । तीमध्ये २५–३० प्रतिशत ‘जेनजी’ उमेर समूहका युवा छन् भने करिब ४०–४५ प्रतिशत नेपाल सरकारले परिभाषित गरेको ४० वर्ष मुनिका युवा सक्रिय सदस्यतामा आबद्ध भएको तथ्याङ्क उनले प्रस्तुत गरे ।

पार्टीमा जोडिने साथीहरूको बढ्दो संख्याले कांग्रेसले महाधिवेशनभन्दा अर्को कुनै विकल्प खोज्नुहुँदैन र यसलाई कुनै बहानामा सार्नुहुँदैन भन्ने देखाएको पनि सिंहले बताए ।

‘अधिवेशन नचाहने जिल्लाले सदस्यता वितरण नगरेका होलान्, तर हामीलाई महाधिवेशन चाहिएको छ,’ उनले थपे, ‘हामी नयाँ जनादेशका साथ बदलिएको कांग्रेस लिएर जनतामा जान चाहन्छौँ । यसले जनजीविकाका सवाल, युवा तथा जेनेजी पुस्ताका माग सम्बोधन गर्ने छ ।’ भूकम्पले थला परेको जाजरकोटमा दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माणमा राज्यको उदासीनता देखाएको पनि सभापति सिंहले बताए ।

यस्तो छ सदस्यताको नयाँ तथ्याङ्क

चौधौँ अधिवेशनमा जाजरकोटको क्रियाशील सदस्य संख्या ५ हजार २५४ थियो । अहिले ४ हजार १ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । नवीकरण नभएका सदस्यहरूमा औसतमा केहीको निधन भइसक्यो ।

२००–३०० शिक्षक/कर्मचारीले नवीकरण गरेनन् । सोही मात्रामा विदेशमा रहेको अनुमान छ । यसले गर्दा नवीकरणको प्रतिशत घटेको देखिन्छ । नयाँ सदस्यता वितरण सुरु भएपछि हालसम्म पुरानो नवीकरण संख्याको झन्डै ५१ प्रतिशत अर्थात् दुई हजार २० नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जाजरकोट कांग्रेसले आगामी फागुनमा हुने चुनावका लागि उम्मेदवारको नाम पनि सिफारिस गरिसकेको छ ।

सभापति सिंहले भने, ‘राष्ट्रिय तथा प्रतिनिधिसभाको आसन्न निर्वाचनको विषम परिस्थितिमा एक घण्टा पनि अलमल गर्ने छुट छैन ।’

बदलिँदो परिवेशमा युवा, जेनेजी पुस्ता र ज्येष्ठ नागरिकका भावना सम्बोधन गर्न पार्टीको आन्तरिक अधिवेशन अपरिहार्य रहेको उनको भनाइ छ ।

निर्वाचन आयोग समानुपातिक बन्द सूचीको काम समाप्त गर्ने गरी अगाडि बढिसकेपछि देश चुनावमय बन्ने छ, यसमा जिम्मेवार दलहरूले अलमल गर्नुभन्दा तयारीमा जुट्नु पर्ने तर्क सिंहको छ ।

तपाईको प्रतिक्रिया