कुशेको झादेवी मेला : भलिवलको प्रथम पुरस्कार १ लाख १५ हजार, आकर्षक सास्कृतिक कार्यक्रम

जाजरकोट । कुशे गाउँपालिका–५ ढिमेमा परम्परागत रूपमा सञ्चालन हुँदै आएका झादेवी मेला यस वर्ष पनि आयोजना हुने भएको छ । प्रत्येक ५÷५ वर्षको अन्तरालमा पुष पूर्णिमाको दिनदेखि सुरु हुने उक्त मेला यस पटक पुष १७ देखि २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

भलिबल, नृत्य तथा डेउडा प्रतियोगिता मार्फत खेलकुद र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेला व्यवस्थापन मूल आयोजक समितिका अनुसार मेलामा स्थानीय युवायुवती, कलाकार तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेलाअन्तर्गत खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडा स्तरीय महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता र खुला डेउडा प्रतियोगिता समावेश गरिएका छन् । पुरुष भलिबल प्रतियोगिताको दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख १५ हजार, ७५ हजार र ४५ हजार रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै, महिला भलिबल प्रतियोगितामा दर्ता शुल्क २ हजार रुपैयाँ राखिएको छ । यसतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

May be an image of text

नृत्य तथा डेउडा प्रतियोगितामा पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । नृत्य प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने डेउडा प्रतियोगितामा पनि उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रममा सहभागी हुन चाहने टिम तथा कलाकारहरूले आयोजक समितिले तोकेको मितिभित्र दर्ता गर्नुपर्नेछ । खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरूले नागरिकता वा जन्मदर्ता अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने सर्त राखिएको छ ।

मेलाका माध्यमबाट स्थानीय खेलकुद प्रतिभाको पहिचान, लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव मजबुत बनाउने लक्ष्य लिइएको मूल आयोजक समितिका अध्यक्ष टेकराज मल्लले बताए । उनका अनुसार मेलाले गाउँको पहिचानलाई थप उजागर गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया