छेडागाडका युवा  हेमराज दाहाललाई नगरपालिकाद्वारा विशेष सम्मान

मनघाट । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा नेतृत्व बहस प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नेपाल र छेडागाड नगरपालिकाको नाम विश्वमञ्चमा उजागर गर्न सफल युवा नेता हेमराज दाहाललाई जाजरकोट छेडागाड नगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ।

नगरपालिकाको ५२औँ नगर कार्यपालिकाको बैठकपछि आयोजित विशेष समारोहमा दाहाललाई फूलमाला, सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गर्दै नगर नेतृत्वले उनको उपलब्धिलाई ‘नगरको गौरव’ तथा ‘युवाका लागि प्रेरणादायी उपलब्धि’ का रूपमा प्रशंसा गर्यो।

समारोहमा बोल्दै नगर प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिहरूले दाहालले अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरेको उत्कृष्ट क्षमताले सम्पूर्ण नगरवासीको गर्व बढाएको उल्लेख गर्दै आगामी दिनमा उनको नेतृत्व, प्रतिभा र सक्रियता अझ प्रभावशाली हुने विश्वास व्यक्त गरे।

उनले जस्ता सक्षम युवाले प्राप्त गरेको अन्तर्राष्ट्रिय पहिचान नै ‘समृद्ध छेडागाड’ निर्माणको आधार हुने जनप्रतिनिधिहरूको भनाइ थियो।

यस सम्मानसँगै नगरका युवाबीच नयाँ ऊर्जा, उत्साह र नेतृत्वप्रतिको प्रेरणा थपिएको छ।

तपाईको प्रतिक्रिया