खलंगामा बजार अनुगमन : फोहोर व्यवस्थापन र सरसफाइमा कडाइ


खलंगा । सदरमुकाम खलंगामा शनिबार बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजु प्रसाद पौडेलको नेतृत्वमा भएको अनुगमनमा बजार क्षेत्रमा फोहर व्यवस्थापन, सडक सरसफाइ, अव्यवस्थित पार्किङ र अनियन्त्रित संरचनाका विषयमा विशेष निगरानी गरिएको हो ।

अनुगमन टोलीमा भेरी नगरपालिका उपप्रमुख सीता जैसी, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बसन्त प्रसाद शर्मा, अन्य सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरू सहभागी थिए । टोलीले बजार परिक्रमा गर्दै व्यापारी, सवारी चालक र स्थानीयवासीलाई सचेत गराएको थियो ।

प्रजिअ पौडेलले खलंगालाई सफा राख्ने जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिँदै भने, “सदरमुकाममा आउने जो–कोहीले पहिलो दृष्टिमा सफा र व्यवस्थित शहर देख्नुपर्छ । फोहर थुपार्ने, सडकमा अव्यवस्थित सामान राख्ने, अनियमित पार्किङ गर्ने प्रवृत्ति तुरुन्तै सुधारिनुपर्छ । प्रशासनले निरन्तर निगरानी बढाउँछ र कानुन उल्लङ्घन गर्नेविरुद्ध कारबाहीबाट पछि हट्दैन ।”

उनले बजार अनुगमनलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइने उल्लेख गर्दै थपे, “हामीले आज देखेका कमीकमजोरी तत्काल सम्बोधन हुनुपर्छ । नगरपालिकासँग समन्वय गरेर दीर्घकालीन समाधानका लागि पनि कदम चालिन्छ ।”

यसैगरी, भेरी नगरपालिका उपप्रमुख सीता जैसीले स्थानीय सरकार सरसफाइ र व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “नगरपालिकाले नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ, तर जनताको सहकार्यबिना केवल संस्थागत प्रयासले मात्र नतिजा आउँदैन । हरेक घर–घरले सरसफाइलाई आफ्नो संस्कारका रूपमा अंगाल्नुपर्छ । खलंगालाई सफा सुन्दर बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ ।”

उनले अव्यवस्थित पार्किङ र सडक छेउछाउ थुपारिएका फोहरका ढिक्कालाई तत्काल हटाउन आवश्यक निर्देशन दिएकी थिइन् । साथै नगरपालिकाले चाँडै नै पार्किङ क्षेत्र तोक्ने, नियमित फोहर संकलन गर्ने र सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउने जानकारी दिईन् ।

जिल्ला प्रहरी प्रमुख बसन्त प्रसाद शर्माले शान्ति सुरक्षासँगै सरसफाइ पनि नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित भएको भन्दै प्रहरी प्रशासनले पनि सहकार्य गर्ने बताए । उनले भने, “बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण ट्राफिक समस्या बढिरहेको छ । अब प्रहरी प्रशासनले सख्त कदम चाल्छ ।”

अनुगमन टोलीले व्यापारीहरूलाई अनावश्यक रूपमा सडकमा सामान थुपार्न नदिने, फोहर डस्टबिनमै राख्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायतका विषयमा सचेत गराएको थियो । स्थानीय सरोकारवालाले पनि टोलस्तरीय सरसफाइ अभियानलाई सक्रिय बनाउन प्रतिबद्धता जनाए ।

सदरमुकाम खलंगा जाजरकोट जिल्लाको प्रशासनिक तथा व्यावसायिक केन्द्र भएकाले यहाँको सरसफाइले जिल्लाको छवि निर्धारण गर्ने सरोकारवालाहरूको भनाई छ । यद्यपि, पछिल्ला दिनमा सडकमा फोहरको थुप्रो, अव्यवस्थित पार्किङ र ढल निकास प्रणाली बिग्रँदा सदरमुकाम अस्तव्यस्त देखिएको गुनासो बढ्दै आएको थियो ।

अनुगमनपछि गरिएको छलफलमा सहभागी सरोकारवालाले खलंगालाई सफा र व्यवस्थित बजारका रूपमा विकास गर्न तत्कालीन कदम र दीर्घकालीन योजनालाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए । भेरी नगरपालिका ट्याक्टर मार्फत फोहर संकलन गरिरहेको छ । फोहर लिन समयमै आउनुपर्नेमा स्थानीयको जोड छ ।

तपाईको प्रतिक्रिया