
एआइ बाट बनाइएको तस्वीर हो ।
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले भेरी नगरपालिका–४ मा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रममा समाचार संकलन गरिरहेका पत्रकारमाथि प्रहरी प्रशासनले देखाएको अवाञ्छित व्यवहारको भर्त्सना गरेको छ।
भदौ १० गते साँझ करिब १० बजे नेपाल बैंक अगाडि भइरहेको तीज विशेष कार्यक्रममा प्रत्यक्ष प्रसारण गर्दै गरेका महासंघका पूर्व अध्यक्ष बालकुमार शर्मामाथि प्रहरी निरीक्षक सन्तोष चन्दसहितका सुरक्षाकर्मीले धम्कीपूर्ण शैलीमा मोबाइल जाँच गरी तस्बिर डिलिट गर्न निर्देशन दिएका थिए।
“सेतो टोपी लगाएको मान्छे फोटो खिचेर गयो, तपाईं हो?” भन्ने आशंकाका आधारमा गरिएको प्रहरीको सो व्यवहार अपमानजनक र प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ।
महासंघले सार्वजनिक स्थलमा समाचार संकलन र प्रत्यक्ष प्रसारण गर्नु पत्रकारको पेशागत दायित्व भएकाले यसलाई अपराधको रूपमा लिन नहुने स्पष्ट पारेको छ।
संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, सूचनाको हक र अभिव्यक्तिको स्वतन्त्रतामाथि भएको हस्तक्षेप निन्दनीय भएको भन्दै महासंघले सचेत गराएको छ।
“यस्ता घटनाले पत्रकारमा भय र असुरक्षाको वातावरण सिर्जना हुनुका साथै स्वतन्त्र पत्रकारिता गर्ने वातावरणमा गम्भीर असर पर्छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले भविष्यमा यस्ता गतिविधि नदोहोऱ्याउन प्रहरी प्रशासनलाई सचेत गराउँदै निष्पक्ष रूपमा आफ्नो पेशा निर्वाह गरिरहेका पत्रकारलाई असुरक्षा महसुस हुने कार्य नगर्न चेतावनी दिएको छ। साथै, स्वतन्त्र र सुरक्षित वातावरणमा पत्रकारिता गर्न सकिने स्थिति बनाउन सरोकारवाला निकायलाई तत्काल पहल गर्न अपिल गरेको छ।

















































हाम्रो पहुँच संवाददाता । ११ भाद्र २०८२, बुधबार