
काठमाडौं । लिपुलेकलाई भारत–चीन बीचको व्यापारिक मार्ग बनाउन हालै भएको समझदारीप्रति समाजवादी युवा संगठन नेपालले कडा आपत्ति जनाएको छ । संगठनका अध्यक्ष आकाश कार्कीले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै यो कदम नेपालमाथिको अपमान मात्र नभई भौगोलिक स्वाधीनता, राष्ट्रिय अखण्डता र सार्वभौमिकता माथिको प्रत्यक्ष आक्रमण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा नेपाल–भारत सीमा जोडिएका २६ मध्ये २३ जिल्लाका ७२ स्थानमा अझै विवाद कायम रहेको र २०७३ साल फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी गोविन्द गौतमले शहादत प्राप्त गरेको घटना अझै राष्ट्रिय स्मृतिमा ताजा रहेको स्मरण गराइएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य हिस्सा भएको भन्दै विज्ञप्तीमा भनिएको छ, “यस भूमिमा कुनै सम्झौता वा व्यापारिक लेनदेन अस्वीकार्य छ । राष्ट्रघाती मौनता अपनाउने कुनै पनि शासक वा दललाई इतिहासले कहिल्यै माफ गर्ने छैन ।”
अध्यक्ष कार्कीले नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरेर नेपालको भूमिको रक्षा सुनिश्चित गर्न जोडदार माग गरेका छन् । साथै, सम्पूर्ण देशभक्त युवाहरुलाई उठ्न आह्वान गर्दै उनले भनेका छन्, “यो माटो हाम्रो शिरको माला हो। यसलाई बेच्ने, साट्ने वा विदेशी बजारमा चढाउने कुनै पनि प्रयासको प्रतिवाद गर्न हामी सशक्त आन्दोलनमा उत्रिनेछौं ।”
समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट यूवा समाजवादी संगठन नेपालले जारी गरेको यो विज्ञप्तीलाई नेपालको सार्वभौमिकता र भूमिगत अखण्डतामाथिको गम्भीर चुनौतीको रूपमा कडा चेतावनी स्वरूप लिइएको छ ।

















































हाम्रो पहुँच संवाददाता । ५ भाद्र २०८२, बिहीबार