
जाजरकोट । यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर (कुरी) रातभर जाग्राम बस्दै आइरहेका छन् ।
‘मकै बाली दिनभर बाँदरले, रातभर दुम्सी र बँदेलले खाएर हैरान पार्छन्, सुत्न समेत पाइँदैन’, बारेकोट गाउँपालिका‒०२ रोकायगाउँका किसान रतन बहादुर नेपालीले भने । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला ( मान्छे आकृतीका) बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् ।
दिनभरि बाँदर र रातभरि दम्सी बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक चन्दकली रोकायले बताईन् । ‘रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट दम्सी,बँदेल आउँछ थाहा हुँदैन’, रोकायले भनिन् । वर्षभरि खाने खेतीमा बाँदर, दम्सी र बँदेलको आतंक नियन्त्रण गर्न नसकिएको उनले बताईन् ।
बँदेल, दम्सी र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । जंगली जनावरले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदर, दुम्सीले मकै लगायतका अन्नबाली सखाप पार्न थालेका छन् । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ ।

नलगाड नगरपालिका –४ पिपलचौरका मगबहादुर सिंह बाँदर धपाउन दिनभर बारीमै जाग्राम बस्छन् । बाँदरले मकै खाइदिने र नष्ट गर्न थालेपछि मकै बाली जोगाउन मुस्किल परेको छ । चारैतिरबाट बाँदर आएर मकै खाइदिने गरेपछि विहानै उठेर बारीमा जानुपरेको सिंहको भनाई छ ।
सिंह मात्र होइनन् पिपलचौरका चक्रबहादुर रावल, पवित्रा रावल, मनबहादुर खत्री, सुनिल खत्री, जीवन रावल, टोपबहादुर रावल, शेरबहादुर रावल, पम्फा थापा, भागन्त वली, कालिबहादुर वली, पे्रमबहादुर वली लगाएत गाउँका किसान मकै बारीमै समय बिताउन बाध्य छन् ।
यहाँका किसानलाई बाँदर, दुम्सी र स्यालले लगाएको बाली नष्ट गर्न थालेपछि आफुहरुलाई बर्खे बाली जोगानै मुस्किल परेको किसान भागन्त वलीले बताए ।
‘यहाँको प्रमुख बाली नै मकैखेती हो यो पनि बाँदर, दुम्सी र स्यालले खाइदिन्छ, वलीले भने ।’
छ महिना देखि बर्षभरी खान पुग्ने मकैखेती सखाप पारेपछि चिन्तामा किसान छन् । “जङ्गली जनावरले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै जागराम बस्नुपर्ने बाध्यता रहेको अर्का किसान मनबहादुर खत्रीको भनाई छ । पहिले बाँदर, दम्सी र स्यालले कमै मात्र मकैमा क्षेती गर्ने गरेको थियो, अहिले त सबै सखापै पारिदिन्छ’, किसान खत्रीले भने ।
जिल्लाको अधिकांश भेगमा लगाइएको मकै बाली जङ्गली जनावरले सखाप पारी दिँदा किसानहरू चिन्तित भएका छन् । कतै बँदेल, दुम्सीले क्षेती गर्छ भने कतै बाँदर र स्याल लगायतका जनावरको हुल मकैवारीमा पसी सखाप पारी दिँदा कृषकहरूमा निराशा छाएको हो ।

मकैवाली जङ्गली जनावरले सिद्ध्याई दिँदा आफूहरूले समस्या भोग्नु परेको नलगाड ४ सिलाजका कृषक मन्दरा रावलको गुनासो छ ।
जङ्गली जनावरले बालीनालीमा क्षति पुर्यायो भने सरकारले किसानहरुलाई राहत दिने ब्यवस्था छ तर जङ्गली जनावरले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने काम नहुदा यहाँका किसान राहत पाउनबाट बन्चित हुने गरेको नलगाड‒ ४ का वडाध्यक्ष बद्री पन्तले बताए ।

नगरपालिकाबाट राहत दिने कुनै नीति नबनाएको अध्यक्ष पन्तले बताए ।
बारेकोटका मुल्साम, रोकायगाउँ, रामीडाँडा, रुम्सीलका किसानहरु मकै जोगाउन खेतवारीमै वास बस्न बाध्य छन् ।
किसानहरुको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् ।

















































कालीबहादुर नेपाली । २ भाद्र २०८२, सोमबार