अनेरास्ववियु कर्णालीमा पनि समानान्तर कमिटी, सञ्जय योगी बने प्रदेश संयोजक


सुर्खेत । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा कार्यविभाजनलाई लिएर विवाद बढेको छ ।

गण्डकी प्रदेशपछि कर्णालीका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलरलाई अस्वीकार गरिएका छन् । शनिबार कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो ।

यो बैठकले कडरियाको सर्कुलरलाई संगठनात्मक मर्यादामा नरहेको, आन्तरिक लोकतन्त्रविरुद्ध र कार्यकर्ताको आत्मसम्मानमाथि खुला आक्रमण भनेको छ ।

बैठकले कर्णाली प्रदेश संयोजकमा सञ्जय योगीलाई बनाउने निर्णय पनि गरेको छ । सर्कुलरमा भने संगठनका सचिव धर्म शाहीलाई संयोजक तोकिएको थियो ।

तर उपाध्यक्ष योगी हुँदाहुँदै विधि मिचेर सचिव शाहीलाई प्रदेश संयोजक बनाइएको भर्चुअल बैठकले निष्कर्ष निकालेको छ । ‘बैठक मार्फत कमरेड सञ्जय योगी संयोजक हुनेगरी निर्णय गरिएको छ’, बैठकपछि जारी बक्तव्यमा भनिएको छ ।

बक्तव्यमा केन्द्रीय सचिवालय सदस्यहरु अक्कल सिजापति, प्रतिमा खड्का, विराज भण्डारी, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रत्ननाथ योगी, सन्जिता साह, दैलेख अध्यक्ष झलक खड्का र सुर्खेत अध्यक्ष प्रतीक शाहीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया