सुनचाँदी व्यवसायी संघको आन्दोलनः जाजरकोट खलंगामा मोटरसाइकल र्‍याली, भेरी नगरपालिकामा ज्ञापनपत्र बुझाइयो

जाजरकोट – देशभर सुनचाँदी व्यवसायी संघहरू आन्दोलित भइरहेका बेला जाजरकोटको खलंगामा पनि व्यवसायीहरूले सरकारको नीति तथा करप्रणालीको विरोधमा प्रदर्शन गरेका छन्।

सरकारले सुनमा लगाएको २ प्रतिशत कर, बहुमूल्य पत्थर हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), सुनको भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गर्नुपर्ने मागसहित संघले देशभर चरणबद्ध आन्दोलन गरिरहेको छ।

यही सन्दर्भमा जाजरकोट खलंगामा बुधबार मोटरसाइकल ¥याली निकालिएको थियो। त्यसपछि भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीलाई ज्ञापनपत्र बुझाइएको छ।

सुनचाँदी व्यवसायी संघ जाजरकोटका अध्यक्ष विनोद शाहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा भेरी नगरपालिकाले व्यवसायीहरूमाथि लगाएको कर प्रणाली व्यवसायमैत्री नभएको, त्यसले व्यवसायमा असर पारिरहेको भन्दै पुनरावलोकनको माग गरिएको छ।

ज्ञापनपत्र बुझ्ने क्रममा उपप्रमुख जैसीले, “हामी संघले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिन्छौँ। अध्ययन गरेर सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक निर्णयमा पुग्नेछौँ,” भन्दै व्यवसायीहरूको माग सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिन् ।

ज्ञापनपत्र बुझाउनेमा जगत शाह, अध्यक्ष विनोद शाह, ललित सुनार लगायतका व्यवसायीको उपस्थिति रहेको थियो।

सुनचाँदी व्यवसायी संघले सरकार र स्थानीय निकायहरूले व्यवसायमैत्री नीति नल्याए थप संघर्षका कार्यक्रमहरू अगाडि सार्ने बताएकाे छ ।

तपाईको प्रतिक्रिया