
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि आइतबार कार्यकक्षमै अज्ञात समूहले कुटपिट गरेको छ। कार्यालय समयमै ३–४ जना व्यक्तिहरू एक्कासी कार्यकक्षभित्र पसेर दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख शाहले बताए।
“म सामान्य फाइल हेर्दै थिएँ, उनीहरू एकाएक पसेर आक्रोशित स्वरमा कराउन थाले, त्यसपछि मलाई थिचथाच पार्दै कुट्न थाले,” शाहले भने। घटनामा उनी सामान्य घाइते भएका छन्।
केही दिनअघि सार्वजनिक भएको एक भिडियोमा शाह कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको देखिएपछि तीव्र आलोचना भइरहेको थियो। सोही घटनाको प्रतिक्रिया स्वरूप आजको आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। शाहले भने, “भिडियो नियोजित रूपमा मेरो चरित्र हत्या गर्नका लागि फैलाइएको हो।
त्यो कार्यालय समय बाहिरको घटना थियो, तर त्यसलाई लिएर नकारात्मक प्रचार गरिएको छ। तर कुटपिट गर्ने अधिकार कसैलाई छैन।”
जिल्ला प्रहरी कार्यालय जाजरकोटले घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार , “घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरी विश्लेषण गरिँदैछ। चाँडै आक्रमणकारीको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ।”
घटनाले सरकारी कार्यालयभित्रको सुरक्षाप्रति प्रश्न उठाएको छ। साथै, सार्वजनिक पदमा बसेका व्यक्तिहरूमाथिको सामाजिक र शारीरिक आक्रमण कत्तिसम्म खतरनाक हुन सक्छ भन्ने संकेत पनि दिएको छ।
















































हाम्रो पहुँच संवाददाता । २२ असार २०८२, आईतवार