“कुदुमा सिंचाई पुग्यो, इतिहासमै पहिलो पटक रोपाइँ भयो”

बर्खा लागेसँगै यहाँ रोपाइँको उत्सव चलेको छ, जहाँ पहिले खडेरीले चपाएको भूमि आज हरियालीको स्वरूप लिइरहेको छ ।

जाजरकोट । भेरी नगरपालिका ‒१३ कुदुकी केवाली बटाला उमेरले ६० को दशक लागिन् । गाउँमा रोपाइँ चलेको कहिल्यै देखेकी थिईनन् । खानेपानीको हाहाकार हुने गाउँमा यसपटक सिंचाई पुगेपछि रोपाइँ गरेको देख्दा दंग परेकी छन् ।

“गाउँमा रोपाइँ हुन्छ भनेर सोचेकै थिइनँ”, उनले भनिन्, “बर्सेनि खानेपानीकै लागि गाग्री बोकेर घण्टौं लाईन बस्नुपरेको थियो, अहिले खेतमा पानी आइपुगेको देख्दा सपना जस्तै लाग्छ ।”

अर्का स्थानीय ५७ बर्षीया गणेश रोकायको पनि अनुभव उस्तै छ ।

कल्पना गरेको थिइनँ”, उनी भन्छन्, “पहिला त एक गाग्री पानीका लागि दुई घण्टा लाइन बस्नु पथ्र्यो, अहिले लिप्ट सिंचाई मार्फत पानी खेतमै आएको छ । खानेपानी अभावमा बाँचेका हामीले अब रोपाइँ सजिलै गर्न पाउने भएका छौं, खुशीको सीमा नै छैन ।”

एक गाग्री पानीको लागि घण्टौँ लाइन बस्नुपर्ने कुदुवासी अहिले भने खेतमा पानी हाली रोपाइँ गर्दै छन् । गणेशले थपे, “हाम्रा बाआमाले पनि रोपाइँ गरेको देखिएको थिएन,” उनले भने्, “यो त चमत्कार जस्तै लाग्छ । खेतमै पानी आएको छ, आफ्नै आँखा नपरेको भए पत्यार लाग्ने थिएन ।”

यो परिवर्तनको श्रेय जान्छ, एकीकृत कर्णाली सिँचाइ आयोजना लाई । पाँच करोड बढी रुपैयाँको लागतमा लिप्ट सिँचाइ प्रविधिबाट गाउँमा पानी ल्याइएपछि यहाँको जीवनशैली नै परिवर्तन भएको छ ।

“अब त हाम्रो गाउँमा पनि केही गर्न सकिन्छ भन्ने लाग्न थालेको छ,” वडाध्यक्ष यज्ञ बटाला भन्छन्, “पहिला त पानी नहुँदा खेती सम्भव थिएन, अहिले खेतमा पानी छ, गाउँमै केही गर्ने आशा पलाएको छ ।”

यहाँको ७६.१ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेर धान रोपाई सुरु भएको वडाध्यक्ष बटालाले बताए । सोलार प्राविधि प्रयोग गरेर एकीकृत कर्णाली सिंचाई विकास आयोजनाबाट कुदुका चार गाउँमा सिंचाई सुविधा पुगेको हो । पिउने पानी देखि सरसफाइका काममा भेरी नदी पुग्ने यहाँका स्थानीयबासीका लागि कुदु लिफ्ट सिंचाई योजना सम्पन्न भएपछि चार गाउँका स्थानीयबासीलाई पानीको सुविधा पुगेको छ ।

कुदुका लामितरा, रोकायगाउँ, कुशतरा र बटालागाउँमा सिँचाई सुविधा पुगेसँगै रोपाइँका कामहरु सुरु भएको वडाध्यक्ष बटालाले बताए । ‘इतिहासमा पहिलो पटक हामीले धान रोप्न पाएका छौं, उनले भने, ’ तत्कालिन उर्जामन्त्री शक्तिबहादुर बस्नेतले कुदुमा पानी पुर्याउनका लागि बजेट बिनियोजन गर्नुभएको थियो । मैले उहाँसँग निरन्तर सल्लाह गरेर यसमा जोडिएको थिए । छोटो समयमा सिँचाई सुविधा पुर्याउन सफल भएका छौं ।’

२०८० फागुन १६ गते योजनाको ठेक्का भई हाल योजना सम्पन्न भएको आयोजना प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले जानकारी दिए । पाँच करोड ४१ लाख ५२ हजार ११ रुपैयाँमा सिंचाई योजना सम्पन्न भएको कार्यालय प्रमुख डुम्राकोटीले बताए । भूमी निर्माण सेवा, रोल्पाले उक्त काम गरेको थियो ।

पानी पुगेसँगै आफूहरु खुसी भएको उपभोक्ता समितिका अध्यक्ष रमेश बटालाले बताए । ‘कल्पना नै नगरेको ठाउँमा पानी मात्र पुगेन, सिंचाइको काम समेत सुरु भएको छ’ उनले भने । भेरी नदी छेउँमै बगेपनि यहाँका स्थानीयबासीहरु हेरेर चित्त बुझाउनु पर्ने अवस्था विगतमा रहेको थियो । प्रदेश सरकारको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयबाट कुदुका केही भागमा पानी ल्याउने प्रयास भएको थियो ।

भेरी करिडोर तथा मध्यपहाडी लोकमार्ग सँग जोडिएको यो वस्ती भेरी नदीका किनारमा रहेको छ । कुदुका लागि यो सिँचाइ आयोजना केवल कृषि विकास होइन, गाउँ फर्काउने आशा बनेको छ । अब हरेक असारमा यहाँ पनि धान रोपाइँको गीत गुञ्जिने भएको छ ।

जहाँ कहिल्यै पानी थिएन, त्यहाँ आज जीवन बगिरहेको छ । कुदुका बासिन्दाका अनुहारमा आएको यो मुस्कान, केवल सिँचाइको मात्र उपहार होइन — यो विकास, सम्भावना र सम्मानको पुनर्जागरण हो ।

बर्खा लागेसँगै यहाँ रोपाइँको उत्सव चलेको छ, जहाँ पहिले खडेरीले चपाएको भूमि आज हरियालीको स्वरूप लिइरहेको छ ।

कुदु जस्तो जलस्रोतको चरम अभाव भोगिरहेको गाउँमा यस्ता योजनाले साँच्चिकै ग्रामीण विकासको नयाँ खाका कोर्न सक्छन् भन्ने उदाहरण बनेको छ । असार १५ धान दिवसको अवसरमा भेरी नगरपालिका र कृषि विकास कार्यालयले उत्सव समेत मनाएका छन् । खानेपानीको हाहाकार हुने गाउँ रोपाइँ चल्दा विकासको गतिलो उदाहरण देखिएको छ ।

तपाईको प्रतिक्रिया