
खलंगा । जाजरकोटमा (एसईई) परीक्षा २०८१ को नतिजा उत्साहजनक देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले दिएको विवरणअनुसार यस वर्षको एसईई परीक्षामा जिल्लाभरका ४ हजार ३ सय विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १२२ जनाले सबैभन्दा उच्च ग्रेड ‘एप्लस’ हासिल गरेका छन् ।
इकाईका प्राविधिक सहायक दलवीर पुनका अनुसार जिल्लाको नतिजा अघिल्ला वर्षहरूको तुलनामा केही सुधारोन्मुख देखिएको छ । उनका अनुसार, यस वर्ष ‘ए’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार ७९ पुगेको छ भने ‘बी प्लस’ ल्याउने विद्यार्थी १ हजार ६ सय ३३ जना छन् ।
त्यस्तै ‘बी’ ग्रेड प्राप्त गर्ने विद्यार्थी ६ सय ५८ जना रहेका छन् भने ‘सी प्लस’ ल्याउने विद्यार्थी संख्या ३९ रहेको छ ।
‘सी ग्रेड’ मा ७ सय ६३ विद्यार्थी परेका छन् भने ‘डी ग्रेड’ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । यसले नतिजा औसत भन्दा माथि रहेको देखिन्छ ।
पुनका अनुसार, यो नतिजा जिल्लाभर सञ्चालन गरिएको शिक्षाको गुणस्तर सुधार कार्यक्रम, पठनपाठनमा बढेको नियमितता तथा विद्यार्थीहरूमा बढ्दो आत्मविश्वासको नतिजा हो । उनले भने, “यस पटकको नतिजा अघिल्लो वर्षभन्दा सकारात्मक छ, तर अझ मेहनत गर्न बाँकी छ ।”
जिल्लाका विद्यालयहरूमा विद्यार्थीको नतिजालाई थप सुधार गर्ने उद्देश्यले अभिभावक–सहभागितामा आधारित कार्यक्रम, शिक्षण तालिम र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।
















































हाम्रो पहुँच संवाददाता । १५ असार २०८२, आईतवार