
जाजरकोट । नलगाड नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा युवालाई रोजगारीमा जोड्ने लक्ष्यसहित नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख डम्बर रावतले १६औं नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले समावेशी विकास र स्थानीय जनअपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नगरप्रमुख रावतले प्रस्तुत गरेको दस्तावेजमा शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि यान्त्रीकरण, पूर्वाधार विकास र युवाको आत्मनिर्भरता प्राथमिकतामा राखिएको छ।
शिक्षामा गुणस्तर र पहुँच सुधारको योजना
नगरले सामुदायिक विद्यालयमा डिजिटल शिक्षण प्रणाली विस्तार, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, शिक्षक क्षमता अभिवृद्धि तथा विद्यालय स्तरीय सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ।
स्वास्थ्य क्षेत्रमा सुदृढ सेवा र पहुँच विस्तार
मातृ–शिशु स्वास्थ्य, सुरक्षित प्रसूति सेवा, सर्बसुलभ औषधि तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू अघि सारिएको छ। नगरले सबै वडामा स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ।
कृषिमा आत्मनिर्भरता र व्यवसायिकरण
जैविक कृषि, स्थानीय बिउ उत्पादन, सिँचाइ सुविधा विस्तार, पशुपालन प्रवर्द्धन तथा कृषक समूहलाई प्रविधि र अनुदानमा सहजीकरण गरिने जनाइएको छ।
युवा रोजगारीका लागि लोकप्रीय कार्यक्रम
नगरले सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप सहयोग र वैदेशिक रोजगार तयारी कार्यक्रम सञ्चालन गर्ने भएको छ। रोजगारीको खोजीमा रहेका युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने दीर्घकालीन योजना सार्वजनिक गरिएको छ।

पूर्वाधारमा छरितो सेवा प्रवाह
ग्रामीण सडक, पुल, खानेपानी, सरकारी भवन निर्माण तथा ऊर्जा पहुँच विस्तारमा योजना ल्याइएको छ। योजनाको छनोटमा पारदर्शिता र कार्यान्वयनमा प्रभावकारिता अपनाइने बताइएको छ।
नगरप्रमुख डम्बर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नलगाडलाई “समावेशी, आत्मनिर्भर र समृद्ध नगरपालिका” बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको छ। उहाँले नागरिकको विश्वास जित्ने काम गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुभयो।
नीति तथा कार्यक्रमकाे पुर्णपाठ हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस्
नलगाड नगरपालिकाको आ व २०८२।०८३ को बार्षिक निति तथा कार्यक्रम
















































हाम्रो पहुँच संवाददाता । १२ असार २०८२, बिहीबार