चंखेलीमा सिकाइ आपूर्तिको तालिम सम्पन्न, विपद् परिस्थितिमा पनि शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता

 
हुम्ला, चंखेली — विपद्को अवस्थामा समेत बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले चंखेली गाउँपालिका–४, पिप्लाङ्गमा आयोजित सिकाइ आपूरण तथा द्रुत सिकाइ तालिम सम्पन्न भएको छ । शिक्षा शाखाको आयोजनामा सञ्चालित तालिम २०८२ असार २ गतेदेखि ४ गते सम्म चलेको थियो ।

तालिमको प्रमुख उद्देश्य विपद् तथा आपतकालीन अवस्थामा पठनपाठन नरोकिने सुनिश्चितता गर्न, शैक्षिक क्षति न्यूनीकरण गर्न र बालमैत्री सिकाइ वातावरण सृजना गर्नु रहेको शिक्षक हरीबहादुर बिश्वकर्माले जानकारी दिए । तालिममा चंखेली गाउँपालिकाभित्रका विभिन्न विद्यालयबाट करिब ५० जना शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही रहनुभएको थियो । उहाँले शिक्षालाई प्रत्येक बालबालिकाको अधिकारका रूपमा लिँदै विपद्मा पनि पठनपाठन निरन्तरता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ४ का अध्यक्ष तथा सामाजिक शाखा संयोजक पदमबहादुर शाहीले राख्नुभएको थियो ।

तालिमका प्रशिक्षक दिलबहादुर शाहीले विपद् अवधिमा प्रयोग गर्न सकिने वैकल्पिक शिक्षण विधि, बालमैत्री सिकाइ प्रक्रिया, स्थानीय स्रोतको प्रयोग र समुदाय–विद्यालय समन्वयजस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुभयो । सिकाइ विधिः समूहगत कार्य, प्रस्तुति, अन्तरक्रियात्मक शैली, मूल्यांकन प्रणालीः सहभागीको सक्रियता र कार्यसम्पादनको आधारमा निरन्तर मूल्यांकन, सिकाइ क्षेत्रः वैकल्पिक शिक्षण विधिहरू, बालमैत्री पठनपाठन, आपतकालीन समयमा समुदाय र विद्यालयबीच सहकार्य, स्थानीय स्रोतको प्रभावकारी उपयोग लगायतका विषयहरुमा तालिम केन्द्रित रहेको शिक्षक विश्वकर्माले बताए ।

कार्यक्रमको समापन सत्रमा स्वास्थ्य शाखा प्रमुख सुरविर शाहीले शिक्षा र स्वास्थ्यबीचको सहकार्य अझै सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रम संचालन तथा समापनको औपचारिक संयोजन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थमिराज बिडारीले गर्नुभएको थियो ।

तालिमको समापनमा सहभागी शिक्षकहरूद्वारा विद्यालयमा तालिमबाट सिकेका अभ्यासहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएपछि कार्यक्रमले व्यवहारिक परिणाममुखी असर पार्ने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमा आयोजित यस्तो खालको तालिमले चंखेली गाउँपालिकामा गुणस्तरीय, सशक्त र विपद् प्रतिरोधी शिक्षा प्रणाली निर्माणमा टेवा पु¥याउने गाउँपालिकका शिक्षा शाखा प्रमुख राजेन्द्र मल्लले विश्वास व्यक्त गरे  । भविष्यमा अझ व्यापक रूपमा यस्ता तालिमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।

तपाईको प्रतिक्रिया