समावेशी विकासका लागि वस्तीस्तरबाट योजना तर्जुमा गर्दै शितगंगा नगरपालिका

अर्घाखाँची — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत समावेशी विकासलाई प्राथमिकता दिँदै शितगंगा नगरपालिकाले योजना तर्जुमाको प्रक्रिया वस्तीस्तरबाट प्रारम्भ गरेको छ। नगर क्षेत्रका सबै वर्ग, लिङ्ग, जातजाति, महिला, अपांगता भएका व्यक्ति र अन्य सिमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित योजना तर्जुमा थालिएको हो।

नगर उपप्रमुख गीता भाटले बताउनुभयो, “हामी उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै समुदायका सबै तह र तप्काका नागरिकलाई समावेशी विकासको अनुभूति होस् भन्ने उद्देश्यसाथ योजना तर्जुमा प्रक्रिया अघि बढाएका छौं। यसमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) ले प्राविधिक सहयोग पुर्‍याइरहेको छ, जसप्रति हामी आभार व्यक्त गर्दछौं।”

शितगंगा नगरपालिकामा चालु आर्थिक वर्षदेखि स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रम अन्तरगत नगरपालिकाको सहलगानीमा पूर्वाधार विकासका विभिन्न कार्यहरू सञ्चालनमा छन्। कार्यक्रमले सेवा प्रवाह सुदृढीकरण, समावेशी विकास र सुशासन प्रवर्द्धनमा समेत योगदान दिइरहेको छ।

नगर प्रमुख छविलाल पौडेलले सहभागीमूलक योजना तर्जुमा प्रक्रियाबाट समावेशी र सन्तुलित विकास सुनिश्चित गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी वस्तीस्तरमै पुगेर नागरिकका माग र आवश्यकता संकलन गर्दैछौं। त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयनमा ल्याउनेछौं। वडा समितिहरू सक्रियताका साथ लागेको छन् र LISP को प्राविधिक सहयोगले यो प्रक्रिया अझ प्रभावकारी बनेको छ।”

स्थानिय तहको योजना तर्जुमा समावेशी र सहभागितामूलक बनाउन वस्तीस्तरबाटै योजना तर्जुमा गर्नुपर्ने कानुनी तथा नीतिगत प्रावधान अनुरूप नै शितगंगा नगरपालिकाले यो अभ्यास अघि बढाएको हो। यसले समावेशी विकासको जग बलियो पार्दै स्थानीय तहमा नागरिक सहभागिता र उत्तरदायित्व अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया