
जाजरकाेट। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै शाहीमाथि ६ लाख ३६ हजार ४७ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता गरेको जानकारी दिएको हो।
अनुसन्धानका क्रममा शाहीले वन उपभोक्ता समूहको नाममा नेपाल बैंक लिमिटेडको जाजरकोट शाखामा रहेको खाताबाट २०७८ साल चैत २० गते चेकमार्फत सात लाख रुपैयाँ झिकाएर त्यसको एक सानो अंश मात्रै कानूनी प्रयोजनमा खर्च गरेको खुलेको छ। उनले जम्मा ६३ हजार ९५३ रुपैयाँमात्र राजस्व दाखिला तथा लेखापरीक्षण खर्चमा प्रयोग गरेको देखिएको छ।
तर बाँकी रकमको हकमा शाहीले कृषि विकास बैंक लिमिटेडका १४ वटा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यवसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाको १ र होटल धौलागिरी एण्ड रेस्टुरेन्टका ३ वटा नक्कली बिल तयार पारी समूहमा पेश गरेका थिए।
आयोगका अनुसार यी सबै झुट्टा तथा नक्कली कागजात प्रयोग गरी शाहीले सरकारी सम्पत्ति हिनामिना गर्दै व्यक्तिगत लाभ उठाएको पुष्टि भएको छ।
यसरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै शाहीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा १७, ९ र ११ अनुसार कैद तथा जरिवानासहितको सजाय माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
“शाहीले किर्ते छाप दस्तखत गरी झुटा कागजात तयार पारेर गैरकानुनी लाभ लिएका छन्। यसरी सार्वजनिक निकायको धनराशि हिनामिना गर्नु गम्भीर आपराधिक कृत्य हो,” विज्ञप्तिमा भनिएको छ।
अख्तियारले दोषी ठहर भएमा बिगो रकम असुलउपर गर्नेसमेत मागदाबी दर्ता गरेको छ।

















































हाम्रो पहुँच संवाददाता । २९ जेष्ठ २०८२, बुधबार