उपेक्षामा खेलक्षेत्र : बजेट नहुँदा जाजरकोटका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट वञ्चित


जाजरकोट । चालु आर्थिक वर्षमा बजेट अभाव र यहाँका स्थानीय तहहरूको प्राथमिकतामा खेल नपर्दा कर्लाणी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जाजरकोट सहभागी नहुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति जाजरकोटले सार्वजनिक सूचना जारी गर्दै कर्णाली प्रदेशस्तरीय सो प्रतियोगिता जेठ २२ गतेदेखि सुरु हुने भएपनि जिल्लाबाट सहभागिता हुन नसक्ने स्पष्ट पारेको हो । कार्यालयका अनुसार कर्णाली प्रदेश अन्तर्गत १० जिल्लामा चालु आर्थिक वर्षमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको छैन् ।

जिल्लास्तरीय प्रतियोगिता सञ्चालन नहुनुमा प्रदेश र स्थानीय तहहरूको खेल क्षेत्रमा उदासिनता पनि प्रमुख कारण बनेको छ ।
खेलकुदको प्रवद्र्धन र प्रतिभा पहिचानमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण भएपनि सोअनुसार बजेट व्यवस्थापन र कार्यक्रम सञ्चालनमा सहयोग नभएको स्थानीय खेलकर्मीहरू बताउँछन् ।

“स्थानीय तहहरू यदि इच्छुक हुन्थे भने कम्तीमा प्राथमिक छनोट प्रतियोगिता गरेर प्रतिनिधि पठाउन सकिन्थ्यो,” एक प्रशिक्षकले नाम नखुलाउने शर्तमा भने, “तर कसैको चासो देखिएन ।” जिल्लास्तरीय छनोट प्रतियोगिता नहुँदा राष्ट्रपतिको रनिङ शिल्डका लागि आवश्यक खेलाडी छनोट सम्भव भएन, जसका कारण जाजरकोट जिल्ला प्रतियोगिताबाट बाहिरिएको हो ।

यसले जिल्लाका उदीयमान खेलाडीहरूको अवसर गुमेको भन्दै अभिभावक र प्रशिक्षकहरूले चिन्ता व्यक्त गरेका छन् ।
सूचना जिल्ला खेलकुद विकास समितिका प्रमुख जयप्रसाद आचार्यले हस्ताक्षर गरी जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया