मेरो जीवनको त्यो अँध्यारो मोड, जुनदिन बुवा गुमाए !


मेरो जीवनमा एउटा यस्तो पीडा छ, जुन पीडाले मेरो बालापन, हाँसो, सपना र उज्यालो भविष्य सबै लुट्यो । म सधैं यही प्रार्थना गर्छु—जुन पीडाबाट म गुज्रिएँ, त्यो पीडा संसारका कसैको जीवनमा कहिल्यै नआओस् ।

२०७३ सालको तिहार । खुशीको प्रतीक मानिने त्यो पर्व मेरो जीवनको सबैभन्दा पीडादायक मोड बन्न पुग्यो । म जीवनप्रति आशावादी थिएँ, सपनाहरू बुन्दै थिएँ । गाउँ घर झिलिमिली बत्तीले सजिँदै थियो । सबैजना शहरबाट घर फर्किरहेका थिए । मेरा बुबा (धन बहादुर शाही) जन्मगाउँ फर्किनुभयो ।

कुकुर तिहारको दिन थियो । बुबा बजारबाट खाना खान घर फर्किनु भएको थियो । तर, दुर्भाग्यवश घर नपुग्दै उहाँमाथि तीन वटा कुकुरले आक्रमण गर्न खोजे । उहाँले तिनीहरूलाई तर्साएर भित्र पस्नुभयो । तर ती कुकुरहरूले उहाँलाई लखेट्दै करिब ४ किलोमिटर टाढा पु¥याए । थकित शरीर लिएर उहाँले विश्राम गर्नुभयो । फेरि घर फर्कन लाग्नुभयो—शायद यो आशामा कि, “कान्छो छोरा सुर्खेतबाट आइपुगेको होला ।”

तर घर पुग्न एक किलोमिटर बाँकी रहँदै, उहाँ ठूलो भिरबाट लड्नुभयो ।
त्यो बेला म सुर्खेतमा पढ्दै थिएँ । बेलुका खाना खान लाग्दा घरबाट फोन आयो—एक फोन जसको स्वर आजसम्म पनि मेरो कानमा गुञ्जिरहन्छ । “छोरा, छिटो घर आउ, तिम्रो बुवा भिरबाट लडेका छन्, जिउँदो हुनुहुन्छ कि सकिनुभएको छ, केही थाहा छैन ।”

त्यस रात एक छिन पनि निद्रा लागेन । बिहान ६ बज्न कुर्दै घडी हेर्दै बसें । सुर्खेतको बसपार्क पुगेँ, अनि जाजरकोटका लागि गाडी चढें । ११ बजे घर पुग्दा बुवालाई रुकुमको चौरजहारी अस्पताल लगिसक्नु भएको रहेछ । मलाई अस्पताल जान दिइएन, किनभने म धेरै रुन्थें ।

चार दिनसम्म बुवा अचेत अवस्थामा रहनुभयो । पाँचौं दिन होसमा आउनुभयो । त्यो पल, सारा घरमा अलिकति आशा पलाएको थियो । म घरमै दिदीसँग बसेँ, दाजुहरू प्रदेशमा हुनुहुन्थ्यो । फेरि पढ्न सुरु गरेँ । तर, एक दिन शिक्षकले सोधे—“अर्जुन, तिमी कहिले स्कुल फर्कन्छौ?” मैले आँखा रसाउँदै जवाफ दिएँ—“अब म स्कुल आउँदिन ।”

त्यसपछि, म एक्लोपनमा गुम्सिएँ । कहिले काँही लाग्थ्यो—यो पीडाभन्दा मर्नु नै सजिलो होला । तर फेरि आफूलाई सम्झाएँ—म कमजोर भएर होइन, बहादुरीले बाँच्नुपर्छ ।

म घरको जिम्मेवारी सम्हाल्न थालेँ । बाख्रा पाल्ने, गोठालो जान थालेँ । आमाबुवा नेपालगञ्जमा उपचारमा हुनुहुन्थ्यो । तीन वर्षपछि उहाँहरू घर फर्किनुभयो । हामी सबै फेरि एक ठाउँमा भेला भयौं । त्यसैबीच, चैत्र २५ गते, म १३ वर्षको भएँ । बुवाले मेरो जन्मदिन धूमधामले मनाउने योजना गर्नुभयो । गाउँ नै भेला भयो, हर्ष र उत्सव भयो ।

तर त्यो खुसी लामो टिकेन ।
तेस्रो महिनामै, बुबाले सधैंको लागि हामीलाई छाडेर जानुभयो । त्यो दिनदेखि मेरो जीवनमा अँध्यारो मात्र फैलिँदै गयो । बुबा रहनुभएन, तर उहाँका सपना भने बाँकी रहे ।

आज पनि म त्यही अँध्यारो बाटोमा यात्रा गरिरहेछु—एक्लो, तर उद्देश्यले भरिएको यात्रा । म केवल बुबाको कान्छो छोरो होइन, म उहाँका अधुरा सपना साकार पार्न चाहने एक जीवन्त साक्षी पनि हुँ ।

बुबा, म अझै बाँचिरहेछु—उहाँका मूल्य, सल्लाह, माया र सपना बोकेर । एक दिन म तपाईंको सपना पुरा गर्छु—त्यो दिन तपाईंको नाम गर्वका साथ उच्चारण हुनेछ । तपाईंका छोरा भएर म सधैं धन्य छु ।

आज पनि म त्यही यात्रा पार गर्दैछु एक्लो, बुवा विनाको संसारमा । जहाँ म केवल एक छोरो हैन, एक साक्षी पनि बनेँ । बिस्तारै जीवनमा फैलिएको अँध्यारोको । तर पनि, म हरेक दिन बाँचिरहेछु बुवाको सपना पुरा गर्न, आफ्नो भविष्य उज्यालो बनाउन ।

तपाईको प्रतिक्रिया