
जाजरकोट । नलगाड नगरपालिका‒०६ गर्छिनाका ७० बर्षिया वृद्धा रामबहादुर । सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराउन घरबाट चार घण्टा हिडेर वडा कार्यालय पुगे ।
लठ्ठीको सहारामा हिड्ने उनी घण्टौं हिडेर वडा कार्यालयबाट सेवा लिन बाध्य छन् । “घण्टौं लाग्छ, हिडेर यहाँ आउन, जान उस्तै लाग्छ, साह्रै दुःख भईरहेको छ उनले भने, “नयाँ वडाध्यक्ष आएदेखि हामीलाई सेवा पाउन समस्या भईरहेको छ ।”
आफु जस्तै धेरै वृद्धावृद्धलाई सामाजिक सुरक्षा भत्ता बुझ्न मुस्किल भएको उनले बताए । सोही गाउँकी पदमकली ३० दिनको छोरा बोकेर छोराको जन्मदर्ता गराउन घण्टौ हिडेर वडा कार्यालय गईन् ।
“धेरै हिड्नुपर्छ, गाडी लाग्दैनन् आफ्नै खुट्टा गाडी भन्दा बढी चलाउनुपर्छ उनले भनिन्, “हतार गरेर वडा कार्यालय आउनुपर्छ, बेलुका रात परेपछि घर पुगिन्छ, हामीलाई अहिले निकै सास्ती भईरहेको छ ।”
रामबहादुर र पदमकली केही उदाहरण पात्र मात्रै हुन् । नलगाड नगरपालिका वडा नं. ६ का वडाध्यक्षको मनपरी शासनले वडावासीहरुले सास्ती भोगिरहेका छन् ।
वडा कार्यालय भारगाउँमा, कैनाबाट सेवाप्रवाह
करोडौं खर्चेर नलगाड ६ भारगाउँमा वडा कार्यालय भवन बनेको छ । तर वडाको सेवा प्रवाह वडा नं. ३ को कैना बजारबाट भईरहेको छ ।
वडाभित्रका टोलहरुको सेन्टर भनेर भारगाउँमा केन्द्र तोकियो । केही बर्षपछि वडा कार्यालयको भवन बनाईयो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विरेन्द्र बहादुर खड्काले वडाध्यक्ष जिते ।

अहिले सेवाप्रवाह भइरहेकाे ठाउँ कैनाबजार
खड्काले वडाध्यक्ष जितेदेखि वडाको सम्पूर्ण काम आफ्नै घर बाट गर्न थाले । कैनाबजारमा वडाध्यक्ष खड्काको घर छ । त्यही घर बाट वडाको सेवाप्रवाह भईरहेको छ । वडाध्यक्ष खड्काको कैनाबजारमा किनारा पसल छ, आफ्नो व्यापार गर्न सजिलो हुने भएकोले वडा कार्यालयको सेवा कैनाबाट गर्ने गरेको एक स्थानीयले बताए ।
“उहाँ व्यापारमा लाग्नुभएको छ, उनले भने “भारगाउँमा जाँदा व्यापार गर्न अफ्ठेरो हुन्छ होला, त्यही भएर उहाँले वडा कार्यालय यतै घरमा सार्नुभएको छ ।” उनले वडामा वडाध्यक्षको मनपरी शासन चलेको आरोप लगाए ।
इन्टरनेट र विद्युत वडाध्यक्षको बहाना
वडाध्यक्ष विरेन्द्र बहादुर खड्का वडा कार्यालय भएको भारगाउँमा विद्युत र इन्टरनेट सेवा नहुँदा काम गर्न असजिलो हुने भएकोले कैना बाटै सेवाप्रवाह गर्ने गरेको दावी गर्छन् । “अहिले पञ्जीकरणका सम्पूर्ण काम अनलाइन बाटै गर्नुपर्छ, वडाध्यक्ष खड्काले भने, “माथि वडा कार्यालयमा विद्युत र इन्टरनेट पुगेको छैन्, त्यसैले हामीले कैनाबाट सेवा दिईरहेका छौं ।”
अहिलेका वडाध्यक्ष खड्काले यस्तो भनिरहँदा २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका पूर्णबहादुर खड्काले आफ्नो कार्यकाल भारगाउँ बाटै विताए । सबै टोलका सेवाग्राहीलाई पायक पर्ने भारगाउँबाट सेवा प्रवाह गरे ।

भारगाउँमा बनेकाे वडा कार्यालय बन्दै गएकाे अवस्था तर अहिले बनिसकेकाे छ ।
“मेरो पुरै कार्यकाल भारगाउँमै विताए, वडा कार्यालयको भवन बनाए, तर अहिले नेट छैन भन्दै कैनाबाट सेवाप्रवाह भईरहेको छ, उनले भने, “खै किन त्यहाँ बाट सेवाप्रवाह गरिरहेका छन् ?” वडा कार्यालयमा इन्टरनेट र विद्युत अभाव देखाउनु वडाध्यक्षको बहाना भएको स्थानीय बताउँछन् । “उहाँहरु जनताप्रति उत्तरदायी नै हुनुहुन्न एक स्थानीयले भने, आफुलाई जहाँ मन लाग्यो त्यही बाट सेवा प्रवाह गर्नुहुन्छ, जनताको समस्या उहाँहरुले कहाँ देख्नुभएको छ र ?”
वडा कार्यालयको भवन जीर्ण बन्दै, तोडफोड
करोडौं खर्चेर बनाएको वडा कार्यालय भवन जीर्ण बन्दै गएको छ । वडा नं. ६ का गर्छिना, पिउँली, ग्राग्ली, राता, पर्सा, ढाँरा, थाप्ला लगायतका टोलहरुको पायक पर्ने ठाउँ हो भारगाउँ । भारगाउँ बाट वडाले सेवा प्रवाह नगर्दा भवन जीर्ण बन्दै गएको स्थानीय बताउँछन् । वडा कार्यालयका झ्याल, ढोका समेत तोडफोड गरिएको छ ।
“२०७६ सालमा बनेको भवन भित्र केही समान राखिएको छ, एक स्थानीयले भने, “वडा कार्यालय भवन जीर्ण बन्दै गएको छ, तोडफोड गरिएको छ, कसैको ध्यान गएको छैन् ।” वडाध्यक्षले आफ्नै घर बाट सेवाप्रवाह गर्दा बनेको सरकारी संरचना जीर्ण बनेको हो ।
नगरप्रमुख र उपप्रमुख बेखबर
वडा नं. ६ का जनताले सास्ती खेपिरहँदा नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर रावत र उपप्रमुख देवका लामिछाने वेखबर छन् । वडाध्यक्ष विरेन्द्र बहादुर खड्काले हाम्रो पहुँच सँग कुराकानी गर्दै इन्टरनेट र विद्युतका लागि पटकपटक नगर प्रमुख र उपप्रमुख सँग कुरा गरेपनि कुनै सुनुवाई नभएको बताए ।

नगर प्रमुख डम्बर बहादुर रावत र उपप्रमुख देवका लामिछाने
“उहाँहरु सँग धेरैपटक कुरा गरे कुनै सुनुवाई भएको छैन्, वडाध्यक्ष खड्काले भने, “उहाँहरु बेखबर जस्तै हुनुहुन्छ, काठमाण्डौं समेत गएर वडाको सेवाप्रवाहको विषयमा कुरा उठाएको छु ।”
नगरप्रमुख डम्बर बहादुर रावतलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उपप्रमुख देवका लामिछानेले कुनै जवाफ दिन नचाएको देखिन्छ । हामीले फेसबुक म्यासेन्जरमा कहिले समस्या समाधान हुन्छ भनेर सोधेका थियौं ।
यसरी जनताले जिताएर पठाएका जनप्रतिनिधी जिम्मेवार बन्न नसक्नु उनीहरुको लाप्रवाही भएको बुद्धीजिवीहरु बताउँछन् । जनताको समस्या रमिता हेरेर बस्ने जनप्रतिधी कसरी जनतको सेवक बन्न सक्छ भन्दै एक स्थानीयले आक्रोश पोखे ।
















































कालीबहादुर नेपाली । १७ जेष्ठ २०८२, शुक्रबार