
नेपालको वर्तमान सामाजिक, राजनीतिक र शैक्षिक परिवेश एउटा यस्तो मोडमा आइपुगेको छ, जहाँ अब तटस्थता अपराधजस्तै लाग्न थाल्छ । यहाँ दुईवटा धारहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । एकातिर परिवर्तनको यथार्थिक आकांक्षा बोकेको जनसमुदाय छ, जसले पुस्तौंदेखिको शोषणको चक्रलाई तोड्न चाहन्छ, अर्कोतिर, सत्ताको संरक्षणमा लम्पसार परेको शासक वर्ग, जसले राज्यलाई आफ्नै सम्पत्ति ठान्दछ ।
यिनै दुई धारबीच आज शिक्षा क्षेत्र संघर्षको केन्द्र बनिसकेको छ । शिक्षाको मञ्चमा अब केवल पठनपाठनको होइन, विचार र वर्ग संघर्षको उद्घोष गुन्जिन थालेको छ ।
वर्गीय चरित्रको शिक्षा प्रणाली
आजको नेपाली शिक्षा प्रणाली कागजमा ‘सबैका लागि’ भए पनि व्यवहारमा ‘केवल केहीका लागि’ बनाइएको छ । गाउँका विपन्न घरमा जन्मेका बालबालिकाहरू विद्यालयसम्म पुग्नभन्दा पहिले अभावसँग लड्न बाध्य छन्, र जो विद्यालय पुगेका छन्, तिनीहरू गुणस्तरको शिक्षा होइन, केवल प्रमाणपत्र पाउन धकेलिएका छन् ।
शहरमा महँगा बोर्डिङ स्कूल छन्, जहाँ पहुँचवालाका छोराछोरीहरू अंग्रेजीमा बोल्न सिक्छन्, कम्प्युटर चलाउन जान्दछन्, तर गाउँमा अझै पनि भित्ता च्यातिएको पुरानो भवनमा काठको डेस्क खोज्दै विद्यार्थी बस्न बाध्य छन् । यो विभाजन केवल शैक्षिक हैन, यो वर्गीय अन्यायको प्रतिबिम्ब हो ।
मेरो संकल्पः विचारले हल्लाउने संघर्ष
विद्यार्थी आन्दोलन केवल मागपत्र बुझाउने, नाराबाजी गर्ने र बन्द गर्ने माध्यम होइन । यो आन्दोलन क्रान्तिको बीउ हो । अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य, रोजगार, राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको सवालमा जुन स्पष्ट वैचारिक दृष्टिकोण लिएको छ, त्यो हाम्रो ऐतिहासिक संकल्प हो ।
नलगाड जस्तो भौगोलिक, आर्थिक र शैक्षिक रूपमा पछि परेको क्षेत्रका युवाहरूका लागि शिक्षा केवल ज्ञान प्राप्तिको विषय होइन, यो जीवनको लडाइँ जित्ने अस्त्र हो । त्यसैले हामीले ‘एक घर, एक साक्षर’ मात्र होइन, ‘एक घर, एक सचेत क्रान्तिकारी’ अभियान थालेका छौं—जहाँ पढाइको अर्थ जागरण हो, र जागरणको अन्तिम गन्तव्य सामाजिक रूपान्तरण ।
सामूहिक जिम्मेवारीः चेतनालाई उठाउने कर्तव्य
भूकम्प, महामारी, बेरोजगारी, महँगी, राजनीतिक अस्थिरता र युवाशक्ति पलायन—यी सबै चुनौतीहरूले नेपाली समाजलाई थिचिरहेको छ । तर ती चुनौतीहरूमाथि विचार र संगठनद्वारा विजय सम्भव छ ।
आज शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई समेटेर हामीले वैकल्पिक चेतना निर्माण गर्नुपर्छ । बहस, अध्ययन, संगोष्ठी, सेमिनार, वैचारिक प्रशिक्षण, सामूहिक संवाद—यी सबै हाम्रो आन्दोलनका रणनीतिक अस्त्रहरू हुन् । यिनै माध्यमबाट हामीले गाउँगाउँमा विचारको बिउ रोप्न सक्छौं ।
नयाँ पुस्ताः केवल सत्ताको लागि होइन, विचारको लागि तयार
आजका युवाहरूले केवल जागिरको लागि होइन, विचारको लागि पनि पढ्नुपर्छ । किनकी यदि हामीले आजको पुस्तालाई वैज्ञानिक चेतना, वर्गीय दृष्टिकोण र जनपक्षीय राजनीतिक सोचसँग सुसज्जित बनाउन सकेनौं भने, भोली सत्तामा पुग्नेहरू विचारविहीन शासक बन्नेछन् ।
शिक्षा केवल किताब पढ्ने प्रक्रिया होइन, यो जीवन बुझ्ने, समाज रूपान्तरण गर्ने र नयाँ यथार्थ निर्माण गर्ने यात्रा हो । यो चेतनाको आन्दोलन हो ।
निष्कर्षः शिक्षाले क्रान्ति खोजिरहेको छ
आज शिक्षाले क्रान्तिको याचना गरिरहेको छ । क्रान्तिले शिक्षामा परिवर्तनको माग राखिरहेको छ । हामीलाई यस्तो शिक्षा प्रणाली चाहिन्छ जसले सत्ता, समाज र सोचमा परिवर्तन ल्यावस् शिक्षा जुन निजी कम्पनीको सामान होइन, जनताको सम्पत्ति हो ।
हामी सबै विद्यार्थी, शिक्षक, अभिभावक र जागरूक नागरिक मिलेर एउटा नयाँ शिक्षाको सपना देखौं—जहाँ समानता होस्, वैज्ञानिक दृष्टिकोण होस्, र विचारको आधारमा समाज निर्माण होस् ।
क्रान्तिको बाटो काँडेतारले भरिएको छ । तर हामीलाई थाहा छ—त्यही काँडेतारभित्रबाट नयाँ पुस्ता फुलिरहेको छ । त्यही पुस्तालाई हामी शिक्षाको झण्डा समातेर अगाडि लैजान तयार बनाउँदैछौं ।
लेखक : खड्का अखिल (क्रान्तिकारी) प्रदेश कमिटी सदस्य र नलगाड नगरपालिका ईन्चार्ज हुनुहुन्छ ।
















































रविन्द्र खड्का । १४ जेष्ठ २०८२, मंगलवार